कोहलुर, अशोज १९,
शाश्वत आचार्य स्मृति प्रतिष्ठानको आयोजमामा नेपालगन्जमा एक कार्यक्रमका बीच किरण आचार्यको नविनतम् उपन्यास कृति “अहिल्या” माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथिको मन्तव्य राख्दै समालोचक प्रा.डा. गोपालप्रसाद अधिकारीले स्रष्टाको सृजना स्वतन्त्र रहने भएकोले स्रष्टाको रूचि र क्षमता जुन विषयमा छ सोही विषयमा कलम चलाउँदा सृजना स्तरीय बन्ने बताए । प्रा.डा. अधिकारीले हाम्रा प्राचीन अवशेषहरूमा पौराणिक र ऐतिहासिक विषयवस्तु रहेको बताए । आफ्नो मन्तव्य राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ महानन्द ढकालले पछिल्लो समय पौराणिक तथा ऐतिहासिक विषयवस्तुमा सुन्दर सृजनाहरू आएको बताउँदै पौराणिक कथा र ऐतिहासिक विषयवस्तुमा सृजना गर्ने सर्जकहरूले विषय छनौट गर्दा ठूलो सोच विचार गरेर मात्रै छनौट गर्नु पर्ने चुनौती रहेको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ शशिराम कार्कीले उपन्यास लेखन आफैमा गम्भीर विषय भएकोले उपन्यासकार गम्भीर हुनु पर्ने बताए । समालोचक प्राज्ञ हरिप्रसाद तिमिल्सिना पौराणिक विषयवस्तुमा लेखिएको “अहिल्या” उपन्यासमा उपन्यासकारको मिहिनेत रहेको बताउनु भयो । समालोचक चरित्रा शाह “अहिल्या” उपन्यास नारी प्रधान उपन्यास हो ।
यस उपन्यासमा लैङ्गिक विभेदलाई दह्रो रुपमा उठाइएको छ । यो उपन्यासले नारीवादको वकालत गरेको देखिन्छ । समालोचक लेकप्रसाद प्याकुरेल अहिल्या उपन्यासको मुख्य पात्र अहिल्या हुनु पर्नेमा गौतम ऋषि मुख्य पात्रका रपमा आएको र यो कृति दुखान्तमा टुङ्गिएको विचार व्यक्त गरे । कृतिकार किरण आचार्य पौराणिक ग्रन्थकी पौराणिक पात्र अहिल्या अन्यायमा परेको महसुस भएकोले यही अन्यायलाई चिर्न अहिल्या लेखेको बताए । कार्यक्रमको सभाध्यक्ष समेत रहनु भएका प्रा.डा. जनार्दन शर्मा आचार्याले नेपालगन्ज साहित्यको उर्वर क्षेत्र बन्दै गएको बताउँदै स्तरीय सृजनामा ध्यान दिन सर्जकहरूलाई आग्रह गरे । नवीन अभिलासी, खगेन्द्र गिरि कोपिला, जित बहादुर शाह, धिरेन अनुपम, खेम बगर, चन्द्रावती अधिकारी, भिम प्रज्वल, कोपिला सङ्ग्रौला, साश्वत आचार्य, असविर रावत, नरेन्द्र स्वार, भिम प्रज्वल लगायतले रचना वाचन गरेको कार्यक्रममा प्राध्यापक कमान सिङ बोहरा, डा. इन्द्रबहादुर भण्डारी, नरहरि नाथ योगी, भिम बहादुर शाही लगायत तीन दर्जन बढीको उपस्थित रहेको थियो।