कोहलपुर, असोज २८,
गएको शनिबार राति टाउको काटेर हत्या गरिएका चन्द्र बहादुर कामिको टाउको फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरी भट्टराईको कमाण्डमा खटिएको टोलीले कामीको टाउको फेला पारेको हो । मृतकको टाउको खोज तलासको लागि प्रहरी निरीक्षक भट्टराईको कमाण्डमा १५ जनाको प्रहरी टोली र स्थानीय मानिसहरुको सहयोगमा खोज तलास भैरहेको थियो ।
घटना स्थल बाट अन्दाजी ५/६ सय मिटर पूर्व उत्तर कोहलपुर न.पा. ८ बस्ने सुनिता परियारको घरको सेप्टि ट्याङ्किमा टाउको भेटिएको प्रहरीले जनाएको छ । टोलिले हत्या पश्चात फरार रहेका अनिल परियारको बहिनी नाता पर्ने सुनिता परियारको सेफ्टि ट्याङ्किमा शंका लागि ढकन खोलेर हेरेको थियो । सेफ्टि ट्याङ्किको ढकन खोली हेर्दा लासको टाउको र खुर्पा फेला पारेको प्रहरी निरीक्षक भट्टराईले बताएका छन् ।
टाउको फेला पारेसँगै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा थप प्रहरीको टोली उक्त स्थानमा पुगेको छ । घटना बारे अनुसन्धान भईरहेको छ । हत्या गरी फरार रहेका अनिल परियारको खोज तलास भईरहेको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।