कोहलपुर, कार्तिक १,
बाँके अर्थात् पश्चिम नेपालको एउटा सुन्दर जिल्ला । जिल्लाको दक्षिण भागमा तराईको समथर भूभाग र उत्तरी भागमा पूर्व–पश्चिम फैलिएको चुरे शृङ्खला रहेको छ । भौगोलिक वनावटअनुसार तराईको समथर भूमि, उत्तरको भावर प्रदेश र चुरे पर्वतश्रेणी गरी तीन भागमा विभाजन गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज, वागेश्वरी मन्दिर, हात्तीसार, पाटेबाघ, होमस्टे, गाभर भ्यालीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रले बाँकेलाई चिनाएको छ ।
यसै सुन्दर जिल्लाको मुटु हो कोहलपुर । कोहलपुर भएरै चारैतिर पुग्न सकिने भएकाले यसलाई मुटुकै रुपमा लिन सकिन्छ । कोहलपुर सम्भावनाको शहर हो । कोहलपुर लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशको ट्रान्जिट प्वाईन्ट पनि हो । इतिहासदेखि वर्तमानसम्म आइपुग्दा आफ्नो अस्तित्व बोकेर उभिएको छ कोहलपुर । कोहलपुर सिङ्गो मध्य तथा सुदूरपश्चिमको प्रवेशद्वार हो । जातीय, धार्मिक, भाषिक, साँस्कृतिक, सामाजिक तथा राजनीतिक महत्व तथा विशेषता बोकेको यस कोहलपुरले आफ्नै खालको महत्व र विशेषता बोकेको छ । धार्मिक, साँस्कृतिक, प्राकृतिक स्रोतले भरिपूर्ण छ । यहाँको आफ्नै मौलिक बिशिष्टता र बिविधता बोकेको छ । प्राकृतिक स्रोत–साधन, पर्यटनको प्रचुर संभावना छ ।
यहाँको सुन्दरताले सबैको मन लोभ्याउँछ । कोहलपुर शहरभित्र ताल छैन । तर पनि वर्खाको पानी जमेर बनेका धेरै स्थलहरु छन् । तीनै स्थलहरुमा फुलेका छन् सुन्दर कमल । कोहलपुरका विभिन्न पानी जमेका स्थलहरु यतिबेला कमल फुलेर भरिभराउ छन् । अन्य बेलामा सुक्का देखिने यस्ता स्थलहरु यो बेला भने कमल फूलेर यहाँको सुन्दरतालाई थप बढाउँछ । यहाँका थुप्रै वर्षाको पानी जमेका स्थलहरु कमलले झपक्कै ढाकिएका छन् । भने कमल फूलले अझै रङ्ग थपेको छ यो शहरको । कमल फुल्नाले यहाँ सुन्दर र मनमोहक बनाएको छ । चन्द्रमामा पनि दाग हुन्छ भने जस्तै यहाँ पनि एउटा नराम्रो दाग छ । त्यो हो फोहोर । वरिपरि लामोलामो झाडी, बीचमा दबदबे हिलो र पानी , त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर । सुन्दर फूलहरु हेर्न उक्त स्थानमा पुग्न नपाउँदै परैबाट फोहोर गन्हाउँछ । कमल फुल्ने तलाउमा प्लास्टिकका बोतल, बच्चाका लागि प्रयोग गरिएका डाईपर, र फोहोर छरपस्ट देखिन्छ ।
दुखको कुरा यस्ता स्थलहरुमा कमलका फूलभन्दा पनि बढी फोहोरको थुप्रो देखिन्छ । फुलको सुन्दरता नियालेर हेर्नेलाई जिस्क्याईरहेको कुरुप दृष्य छ । कमलका फूल तथा कोपिलाहरुले भरिभराउ भएर कमल फुलेका स्थानभरी फोहोरै फोहोर भएका कारण यहाँको अस्थित्व माथि प्रश्न उठिरहेको छ । सुन्दरताका हिसाबले यति बेला पर्यटकीय आकर्षणको केन्द्र बन्ने सम्भावना प्रचुर छ । तर सरसफाईको कमी तथा फोहोरको उचित व्यवस्थापनको अभाव छ । यस्ता सुन्दरताहरुको संरक्षणका लागि स्थानीय सरकार, जनप्रतिनिधि, राजनीतिज्ञ स्थानीय नागरिकहरुको सक्रियता जरुरी छ ।
बिधुत्मा रैका, प्रधान सम्पादक