कोहलपुर, कार्तिक ३,
ईलाका प्रहरी कार्यालय कोहलपुरले विषाधी सेवन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
गएको असोज १२ गते कोहलपुर नगरपालिका वडा नं. ११ नयाँ बस्पार्क स्थित न्यू रारा कर्णाली होटेलमा बास बस्ने बाहनामा विषाधी सेवन गराई लुटपात गर्ने दुई जनालाई पक्राउ गरेको हो । होटेल संचालककी आमा पार्वती उपाध्यायलाई आमा नाता लगाई विषाधी सेवन गराएका थिए । उनका साथै २ जना नातीनी विधा आचार्य र विनिशा आचार्यलाई फ्रुटी तथा मोहिमा घातक विषाधी मिसाई खुवाएर लुटपात गर्ने महिला पुरुषलाई पक्राउ गरेको कोहलपुर प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपी भण्डारीले बताएका छन् ।
उनीहरुले एक तोला सुनका रिङ, आधा तोला तिलहरी, दुवै छोरीको कानमा रहेका ४ वटा गरी १ तोला सुनका रिङ, नाकमा लगाएको ९ आनाको नथनिया गरी जम्मा २.५ तोला ९ आना तौल भएका सुनका गहना र काउन्टरमा रहेको रु.३० हजार बराबरका नगद तथा जिन्सी सामान चोरी गरी भागी फरार रहेका थिए । पक्राउ पर्नेमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ६१ को कालु परियार र जिल्ला पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर बस्ने ३२ की सन्जु कोइराला रहेको अनुसन्धान मार्फत जानकारी आएको छ ।
लुटपात गरी फरार रहेका उनीहरुको खोजताल गर्दै जादा सन्जुलाई उनको घरबाट तथा परियारलाई तनहु देवघाट गा.पा. वडा नं. ५ बाट पक्राउ गरिएको हो । प्रहरी निरीक्षक रेशम लाल पौडेलको कमाण्डमा खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरी अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय कोहलपुर बाँके ल्याइएको डिएसपी भण्डारीले बताए । परियारको साथबाट बेहोस पार्ने १७ ट्याबलेट औषधी बरामद गरिएको छ ।



