लागुऔषधसहित देशका विभिन्न स्थानबाट एकैदिन ७ जना पक्राउ

कोहलपुर, कार्तिक १२,

तुलसीपुर उपमहानगरपालिका–८ दुधयानाबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् ।

नियन्त्रित लागूऔषध २ हजार ६ सय ९० ट्याब्लेटसहित तुल्सीपुर उपमहानगरपालिका–८ बस्ने ५३ वर्षीया तिल कुमारी बिश्वकर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । साथै अनुसन्धानको क्रममा उनको घरबाट पनि लुकाई राखेको थप २ हजार ३ सय ४० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिकामा पनि लागुऔषसहित पक्राउ गरिएको छ । अवैध लागूऔषध १ ग्राम ३ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध १० ट्याब्लेटसहित संखुवासभा चैनपुर नगरपालिका–१ का २० वर्षीय सन्तोष शेर्पालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

धरान उपमहानगरपालिका–६ को जंगलबाट अवैध लागूऔषधसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सागुरगढी गाउँपालिका–१ बस्ने ३२ वर्षीय बुद्धराज लिम्बु र ३० वर्षीय महा प्रसाद लिम्बु रहेका छन् । प्रहरी चौकी पानमारीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ जाँदै गरेको को.३२ प १७५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यता धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध ३ ग्राम ३ सय ८० मिलिग्रामसहित होटल व्यवसायीलाई पक्राउ गरेको छ । अछाम चौरपाटी गाउँपालिका–१ घर भई धनगढी उपमहानगरपालिका–४ स्थित प्रियंका होटल संचालन गरी बस्ने ३६ वर्षीय विजय साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने ५६ वर्षीय भक्त बहादुर राईलाई अवैध लागूऔषधसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखिएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर कृष्णपुर नगरपालिका–२ बंक बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बाणीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !