कोहलपुर, कार्तिक १५,
कोहलपुर उद्योग वाणिज्य संघको नव निर्वाचित कार्यसमितिले पूर्णता पाएको छ ।
निवर्तमान समितिले पदभार हस्तान्तरण गरेपछि नयाँ कार्यसमितिले पूर्णता पाएको हो । बिहीबार नयाँ निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण, सपथ ग्रहण र पदभार हस्तान्तरण कार्यक्रम भव्य समारोहका बिच सम्पन्न भएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड बिक्रम न्यौपानेले नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै उद्योग र व्यापारको विकासमा प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उद्योग र व्यापार क्षेत्रको विकासमा हामीले सामूहिक प्रयास गर्नु पर्ने भन्दै यस संघले व्यवसायिक वातावरणलाई सुधार्न र रोजगार सिर्जनामा ठूलो योगदान पुर्याउने बताउदै उनले भने “स्थानीय उद्योगको विकासले नै समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ,” । संघको भूमिकाको महत्वलाई उजागर गर्दै उनले व्यवसायिक क्षेत्रको विकासमा समर्पित रहन आग्रह गरेका छन् । उक्त कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष लक्ष्मराज पौडेलले स्वागत गर्दै संघको इतिहास र यसका उपलब्धिहरूको चर्चा गरेका थिए । कोहलपुर उद्योग वाणिज्य संघले समयको साथसाथै नयाँ चुनौतीहरूलाई सामना गर्दै उद्योग र व्यापारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
उद्योग र व्यापारको क्षेत्रमा भइरहेका चुनौतीहरूको सामना गर्न सँगै मिलेर अघि बढ्नको लागि सबै सदस्यहरूलाई एकजुट हुन आग्रह गरेका छन् । हामीले सामूहिक रुपमा विचार साझा गरेर समस्याहरूको समाधान खोज्न निर्वाचित कार्यसमितिलाई उनले सुझाव दिएका छन् ।
यस्तै उक्त अवसरमा बोल्दै नव निर्वाचित अध्यक्ष प्रदिप भट्टराईले आफ्नो कार्यकालको प्रारम्भमा केही महत्वपूर्ण लक्ष्यहरू राखेको बताए । उनले भने, “हाम्रो प्राथमिकता उद्योग र व्यापारको वातावरणलाई सहज बनाउनु हो यसका लागि सबै सदस्यहरूको सहयोग आवश्यक छ । हामीले सँगै मिलेर कोहलपुरलाई एक उद्यमशील नगर बनाउने प्रतिबद्धता गर्छौं, “व्यापारी र उद्योगीको हितलाई ध्यानमा राख्दै विभिन्न पहल गर्न हामी तयार छौं, जसले यहाँका व्यवसायलाई बलियो बनाउन मद्दत गर्ने उनको भनाई रहेको छ ।
कार्यक्रममा विभिन्न उद्योगका प्रतिनिधिहरू, व्यापारी र संघका सदस्यहरूको उपस्थिति रहेको थियो । नव निर्वाचित कार्यसमितिले यहाँका व्यवसायीहरूको मनोबल बढाउने र उद्योगको विकासमा टेवा पुर्याउने उद्देश्य राखेको छ ।