जलवायु परिवर्तनले कर्णालीका महिला र बालबालिकामा पारेको प्रभाव

बिधुत्मा रैका,
कोहलपुर, मंसिर ८,

कर्णाली सुन्दर छ । निश्चल छ । र कर्णाली शान्त पनि छ । बेलाबेला आफ्नो स्वरूपलाई कर्णाली आफैले बिगार्ने पनि गर्दछ । कर्णाली, मानव सभ्यता र संस्कृतिसँग जोडिएको एउटा आधार हो । यो एउटा इतिहास हो । यो एउटा सिंगो सभ्यता पनि हो । कर्णाली केबल नाम मात्रैको कर्णाली हैन । वास्तवमा यो नदिसँग जोडिएको सभ्यता पनि हो । यही सभ्यतासँग जोडिएको छ यहाँ मानिसहरूको जीवन । नेपालका ७ प्रदेशमध्ये कर्णाली प्रदेश क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो, ३०,२११ वर्ग कि.मी.मा अवस्थित छ । इतिहासलाई केलाउने हो भने त्यसबेला पनि कर्णाली एक शक्तिशाली र समृद्ध राज्य थियो । बार्हौ शताब्दीमा नागराजले पालराज्य जितेपछि आफ्नो राजधानीको नाम सिँजा राखेका थिए । खस राजधानी सिँजा, नेपाली भाषा, संस्कृति र साहित्यको मूल उद्गमस्थल पनि हो कर्णाली ।

प्राकृतिक सुन्दरताले सजिएको यो प्रदेश पौराणिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदामा निकै धनि छ । यस प्रदेशमा हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत गरी १० वटा जिल्लाहरू रहेका छन् । सुर्खेतको वीरेन्द्रनगर यसको राजधानी हो भने यस प्रदेशको पूर्वमा गण्डकी प्रदेश, पश्चिममा ७ नम्बर प्रदेश, उत्तरमा छिमेकी राष्ट्र चीन र दक्षिणमा लुम्बिनी प्रदेश रहेका छन् ।

कर्णाली देख्दा सुन्दर लागे पनि, यहाँ दुःखको ठूलो पहाड छ । सुन्दर हुनु भनेको दुःख हुनु पनि हो । तथापी यहाँ सम्भावना पनि उत्तिकै प्रचुर मात्रामा रहेका छन् । सम्भावनाहरूको उचित्र मात्रामा अझै पनि पहिचान भने हुन सकेको छैन । दुःखलाई लिएर हिड्न सक्नेहरू मात्रै यहाँ टिक्न सकेका छन् । यहाँका सुख, दुःखका साथी भनेकै यहाँ दिनरात खट्दै आएका महिला तथा बालबालिकाहरू नै हुन् । अक्सर पुरूषहरू कामका लागि जिल्ला बाहिर, छिमेकी देश भारत र अन्य मूलुक जाने भएकाले पनि यहाँका दुखसँग जुझ्ने भनेकै पहिलो पात्र महिलाहरू नै हुन् । त्यसपछि दोस्रो पात्रका रूपमा यहाँका बालबालिकाहरू रहेका छन् । किनभने, बालबालिकाहरू बाहिर जान नसक्ने र सबैको पहुँच बाहिरी जिल्लाको बसाइ नभएकाले पनि हो । गाउँघरमा बसेर काम गर्ने पुरूषहरूको संख्यामा कमि हुँदै आएपछि महिलाहरूको काँधमा सम्पूर्ण जिम्मेवारी थपिएको छ । त्यसको सोझो असर महिलाको स्वास्थ्यमा पर्दै आएको छ । जसकाकारण महिलाको पाठेघर दुख्ने, गर्भवती अवस्थामा काम गर्दा तल्लो पेट खस्ने, पोल्ने लगायतका थुप्रै समस्याबाट ग्रसित हुन परिरहेको छ । जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको ह्रासले महिला तथा बालबालिकाहरूको खाद्य असुरक्षा बढेको छ । घरमा पालिएका वस्तुभाउदेखि, खेतिकिसानी, बालबच्चा र घरमा रहेका सदस्यहरूको सम्पूर्ण हेरचाहको जिम्मा महिलाको भागमा परेको छ । यिनीहरूले यो काम स्वीकार नगर्नुको कुनै विकल्प नै छैन ।

यहाँका महिला दिदीबहिनीहरू विहान घामको किरण नउदाएदेखि, घाम अस्ताएर रात नछिप्पने बेलासम्म पनि घरदैलो, मेलापात तथा अन्य काममै व्यस्त हुँदै आएका छन् । महिलाहरू प्रत्यक्ष खेतीकिसानी, वनजंगल अथवा वरिपरी रहेका प्राकृतिक सम्पदाको उपयोग र व्यवस्थापनमै आफ्नो दैनिकी चलाउँदै आएका छन् । पछिल्ला वर्षहरूमा यिनै प्राकृतिक सम्पदाहरूको चरम दोहन, लापरवाही जस्ता कुराहरूले यिनीहरूको स्वरूप बिग्रदो अवस्था आएको छ । मानिसले यिनै प्राकृतिक कुराहरूको उचित उपयोग र व्यवस्थापन गर्न नसक्दा विस्तारै त्यसको असर मानव लगायतको जीवनमा देखिँदै जान थालेको छ । विस्तारै मौसम परिवर्तनको असर देखिन थालेको छ ।

कुनै पनि ठाउँमा विकास हुनु राम्रो पक्ष हो । तर पनि विकास गर्दा सकेसम्म प्रकृतिको स्वरूपमा धेरै परिवर्तन नहुने र त्यसलाई असर नपुग्ने गरि विकास गर्नु पर्ने कुराको ख्याल नगरि काम गर्नाले त्यसको असर देखिन थालेको छ । औद्योगिकरण र प्राकृतिक स्रोतको विनाशले जलवायु परिवर्तन हुन गई कर्णालीको समाज, अर्थव्यवस्था र पारिस्थितिक प्रणालीलाई असर गरिहेको छ । यसले जटिल तथा खतरनाक मौसमका घटनाहरू, हिमालय लगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पु¥याउन थालेको छ । फलस्वरूप अतिवृष्टि, अल्पवृष्टि, बाढी, पहिरो, हावाहुरी, असिनापानी, हिमपहिरो, सुख्खा पहिरो, धुलो, तुवालो लाग्ने जस्ता प्राकृतिक विपद्को जोखिम निम्तिने खतरा देखिएको छ । महिलाहरू घरायसी काम र खेतीकिसानीमा व्यस्त हुने भएकाले जलवायु परिवर्तनको प्रत्यक्ष मारमा महिलाहरू पर्दै आएका छन् । खेतबारीमा उब्जाउ कम हुने भएकाले र आफू कसरी बाँच्ने र बालबालिकाहरूलाई कसरी बचाउने भन्ने कुराले पिरोल्दै आएको छ ।
पछिल्लो समय भैरहेको जलवायु परिवर्तनले यहाँको जनजीवनमा विस्तारै प्रभाव देखिन थालेको छ । दैनिक रूपमा तापमान र मौसमको स्वरुपमा आएको परिवर्तनले महिलाहरूको दैनिकलाई प्रभाव पारिरहेको छ । यति मात्र हैन जलवायु परिर्वतनले वनजंगलमा समेत असर पारिरहेको छ । हिजो हरिया देखिने गरेका डाँडा पाखा, वनजंगल अचेल नाङ्गा, रूखो र बन्जर देखिन थालेका छन् । जलवायु परिवर्तनले खाद्यान्न उत्पादनमा समेत कमि हुँदै आएको छ । यसको असर महिला, गर्भवती महिला, बालबालिका, वृद्ध लगायतमा परिरहेको छ । बालकालिकामा कुपोषण हुने जस्ता समस्या देखिन थालेका छन् भने महिलाहरूको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ । उसै पनि पहाडी तथा हिमाली जिल्लामा बसोबास गर्ने महिलाहरूको औसत आयु तराइमा बसोबास गर्ने मानिसहरूको भन्दा आधा जस्तो कम छ । त्यसमा पनि जलवायु परिवर्तनले विस्तारै यहाँका महिला तथा बालबालिकाहरूको स्वास्थ्यमा नकारात्मक असर पार्दै आएको छ ।

जलवायु परिवर्तनका कारणले पशुपालनका लागि राम्रो घाँस उब्जिन कम हुँदै गएको छ । पहिले जस्तो हिमालमा हिउँ देखिएको छैन । जलवायु परिवर्तनले गर्दा हिमालको हिउँ केहि महिनामै पग्लेर जाने, खोलानालामा पनि पानीको सतह घट्ने बढ्ने भएकाले नदिसँग आश्रीत परिवारहरू विस्तारै समस्यामा पर्दै जान थालेका छन् । पानीका मुहानहरू विस्तारै सुक्न थालेपछि त्यसको सोझो असर महिलाको दिनचर्या र स्वास्थ्यमा परिरहेको छ । थुप्रै ठाउँमा मूल सुकेका वा अभाव बढेकाले महिलाहरुले पानी ल्याउनका लागि टाढा–टाढासम्म पुग्नु परेको छ । पुरूषको तुलनामा ६१ प्रतिशत महिला जीविकोपार्जनका लागि कृषिमा निर्भर छन्, अर्थात् महिलामा खाद्य असुरक्षा बढी रहेको छ । मौसम पुर्वानुमानको जानकारीमा कम पहुँच, बाली र जीविकोपार्जनका कम विकल्प, अन्य आयश्रोतको अभाव, र वित्तीय संस्था र कर्जामा कम पहुँचका कारण पनि महिलाहरूमाथि जलवायु परिवर्तनको बढी असर पर्ने गरेको पाइन्छ । हिमाली क्षेत्रका महिलामा जलवायु परिवर्तनको अझ धेरै प्रभाव देखिन्छ । जानकारी, स्रोतसाधन र अनुकूलन सबैमा उनीहरूको पहुँच र क्षमता कम भएका कारण यो समस्याको चपेटामा महिला परिरहेका छन ।

इतिहासको कुनै कालखण्डमा आत्मनिर्भर, आर्थिक सम्पन्नता भएको यो क्षेत्र राज्यबाट घोर उपेक्षाका कारण परनिर्भरताका साथै रोग, भोक, अशिक्षा र अभावको परिचायक बन्न गएको छ भने अर्कोतिर विकास सम्पूर्ण तहमा राष्ट्रिय मूल प्रवाहबाट अलग छ । अन्य क्षेत्र तथा अन्य देशमा गर्ने ठूल्ठूला विकासका कामले नेपालको पश्चिम उत्तरी पहाडी तथा हिमाली जिल्लामा बसोबास गर्ने समुदायहरूमा असर पर्न थालेको छ ।

कर्णालीका १० जिल्लाका महिला दिदीबहिनीहरू जलवायु परिवर्तनको असरको मारमा छन् । बालबालिकाहरूको स्वास्थ्यमा निकै समस्या देखिन थालेको छ । जलवायु परिवर्तनले गर्दा राम्रो उब्जान हुन सकिरहेको छैन । पोषणयुक्त खाने कुरा न गर्भवती महिलाहरूले नै खान पाएका छन्, न त बालबालिकाहरूले नै खान पाएका छन् । महिलाहरूको स्वास्थ्यमा समस्या देखिन थालेपछि आवश्यक मात्रामा दुध खानबाट नवजात शिशुहरू पनि वञ्चित अवस्थामा छन् भने विस्तारै स–साना बालिबालिकाहरू कुपोषणको शिकार हुँदै गएका छन् । बालबालिकाहरू निरोगी हुनुको साटो रोग लिएर बाँच्नुको दोस्रो विकल्प नभएको अवस्थामा छन् । जलवायु परिवर्तनले गर्दा खोलानालामा बाढि, पहिरो आउने भएकाले बालबालिकाहरूलाई विद्यालय जान आउन पनि निकै समस्या देखिएको छ । असिनापानी लगायतले बाली नष्ट गरिदिने भएकाले पनि अन्न उत्पादनमा कमि हुँदै आएको छ । जसका कारण महिलाहरु समयमा खान पनि नपाउने अवस्था छ । खाना पनि कम खानु पर्ने हतारमा खानु पर्ने जस्ता समस्या यहाँका महिलाहरु झेलिरहेका छन् ।

जलवायु परिवर्तनका कारण १ घण्टामा सकिनु पर्ने काम उनी दुई घण्टा लगाउदा पनि सकिँदैन । जलवायु परिवर्तनले खेतीवाली नष्ट गरिदिने, अनिकाल लाग्ने, बच्चाहरु कुपोषित हुने जस्ता थुप्रै समस्याहरु भोग्दै आएका छन् । लामो समयदेखी टाढाबाट पानी ओसार्ने, घाँसदाउराको लागि पनि निकै टाढा जानु पर्ने । धारामा फागुन, चैत र वैशाखमा नियमित पानी नआउने जस्ता समयस्या कर्णालीका नौला समस्या होईनन् । जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य संकटले बालविवाहलाई पनि बढावा दिएको देखिन्छ । जसबाट किशोरीहरूको स्वास्थ्य जोखिममा परिरहेको छ । तापक्रम र वर्षात्को चक्र, खडेरी, यही गतिमा बढ्दै जाने हो भने कर्णालीमा आउने शताब्दीसम्म जलवायु परिवर्तनले महिला र सीमान्तकृत समुदायको जनजीवनमा अकल्पनीय क्षति पुग्ने सम्भावना रहेको छ । कर्णालीका कालीकोट, दैलेख, जाजरकोट, रूकुम पश्चिम, सल्यान, रुकुम जलवायु परिवर्तनको उच्च संकटासन्न सूचीमा छन् । बढ्दो जलवायु जोखिमले महिला, बालबालिका तथा सीमान्तकृत समुदायमा बढी प्रभाव पार्ने भएकाले अनुकूलन र न्यूनीकरणमा संवेदनशील भएर सरकारले पर्याप्त काम गर्नुपर्ने देखिन्छ ।

संकटासन्न समुदायको पहिचान गरेर अनुकूलनमा सघाउनुपर्ने, कृषिलाई महिलामैत्री बनाउनुपर्ने, परम्परागत खाद्य ज्ञानहरूलाई प्रवद्र्धन गरिनुपर्ने छ । प्रदेश सरकार कर्णालीमा जलवायु परिवर्तनको असर डरलाग्दो बन्दै गएको भन्दै सचेत भैसकेको छ । प्रदेश सरकाले कर्णालीका जैविक संरक्षणका लागि योजना अगाडी सारेको छ । यहाँका सजीव प्राणी, वनस्पति लगाायतको संरक्षणमा प्रदेश सरकार अघि सरेको छ । प्रकृति र जीवजन्तुको सौन्दर्यलाई बचाइराख्न कर्णाली प्रदेश जैविक विविधताको संरक्षण गर्दै यहाँका महिलाको जनजीवन सामान्य बनाउनमा लाग्दै आएको छ ।

प्रदेश सरकारले जलवायु परिवर्तनको जोखिममा परेका महिलालाई पनि सूचीकृत गरेको छ । महिलालाई जलवायु अनुकूलन गर्न सघाउने उद्देश्यका साथ प्रदेश सरकार कर्णालीका घर आँगनमा पुगेको छ । कृषिमा जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम व्यवस्थापन नीतिसहित महिलाको सहज जीवनयापनको क्षेत्रलाई समेट्दै प्रदेश सरकारले महिलालाई अनुकूलनमा सघाउन वर्षाको पानी संकलन, बीउ ब्यांक, बाली रोप्ने समय फेर्ने, भू–संरक्षण, पानी व्यवस्थापन, प्लास्टिक टनेल, कृषिमा अनुदान, घरेलु सामान र गोबरबाट आगो बाल्ने, आदिको प्रयोग गर्दै जलवायु परितर्नले पारेको महिलाको जीवनका प्रभावबाट मुक्त गर्ने प्रयासमा छ । यस्ता सहयोगले महिलालाई आयस्रोत बढाउन र जीविकोपार्जन गर्न सहयोग पुग्नेछ । आशा गरौं निकट भविष्यमा जलवायु परिवर्तनले पार्ने असरलाई कम गर्न कर्णाली प्रदेश सरकार थप जिम्मेवार भएर काम गर्दै जानेछ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !