प्राकृतिक सौन्दर्य र जैविक विविधताको धरोहर बाँके राष्ट्रिय निकुञ्ज–रण बम गणको साईकल यात्रा

कोहलपुर, मंसिर १७,

बाँके अर्थात् पश्चिम नेपालको एउटा सुन्दर जिल्ला । लुम्बिनी प्रदेशमा पर्ने बाँके जिल्ला तराई क्षेत्रको उत्तर–पश्चिमको भूगोलमा अवस्थित छ । इतिहासदेखि वर्तमानसम्म आइपुग्दा फरक–फरक स्वरूपमा आफ्नो अस्तित्व बोकेर उभिएको छ बाँके । भनिन्छ धरतीमा स्वर्ग छ । नर्क पनि यहीँ नै छ । यही धर्तीको स्वर्ग हो बाँके राष्ट्रिय निकुञ्ज । बाँके राष्ट्रिय निकुञ्ज आँफैमा स्वर्गीय आनन्द प्राप्त गर्न सकिने अलौकिक निकुञ्ज बन्न सक्ने सम्भावनाहरु प्रसस्तै छन् । यो निकुञ्जलाई सुम्सुम्याउनेहरुका लागि नयाँ र नौलो अनि सुन्दर छ ।

स्वर्गको एक अंश बन्न सक्छ बाँके राष्ट्रिय निकुञ्ज । सुन्दर निकुञ्ज, समृद्ध बाँके बनाउँन सकिने आधारहरु धेरै नै छन् । बाँके राष्ट्रिय निकुञ्ज केवल नाममात्रै हैन, यो त बाँके तथा लुम्बिनी प्रदेशको एउटा सिंगो सभ्यता बन्न सक्छ । निकुञ्जसँग मानव सभ्यता र संस्कृतिसँग जोडिएको आधार पनि हो । यो निकुञ्ज भन्नासाथ हामी पाटेबाघलाई सम्झन्छौ, मनन गर्छौ, आनन्दित हुन्छौं । वास्तवमा यो पाटेबाघसँगै जोडिएको सभ्यता पनि हो । २०६७ साल (सन् २०१०) मा स्थापना गरिएको यो निकुञ्ज ५५० वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले यो निकुञ्जको स्थापना गरिएको हो ।

नेपालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष, कोशीटप्पु वन्यजन्तु आरक्ष, पर्सा वन्यजन्तु आरक्ष तथा चितवन राष्ट्रिय निकुञ्ज, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्जहरु छन् । ती मध्ये अर्काे महत्वपूर्ण तथा देशकै सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज हो बाँके राष्ट्रिय निकुञ्ज । यो निकुञ्जको स्थापना भएको १४ वर्ष पुगिसकेको छ ।

बाँके, दाङ र सल्यानको मध्यक्षेत्रमा अवस्थित यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ । यो निकुञ्जलाई पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा लिईएको छ । यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३०० भन्दा बढी प्रकारका चराको प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् । हाल यस निकुञ्‍जमा २५ वटा पाटे बाघ रहेका छन । यो निकुञ्ज अवलोकन तथा भ्रमणका लागि सडकमार्गको निर्माण भैरहेको छ ।

जैविक विविधताको संरक्षण नै मानव संरक्षण हो । बढ्दो प्रविधिको प्रयोग, प्राकृतिक स्रोतहरूको उपभोग, वातावरणीय प्रदूषण तथा जनसंख्याको वृद्धिले नै वातावरण अनुकूलित हुन सकेको छैन् । यसको व्यवस्थापन तथा निकुञ्जको सुरक्षार्थ रण बम गण खटिएको छ । केही समय अगाडि अर्जुन वाण गण निकुञ्जमा खटेको थियो उक्त गणको सरुवा पछि रण बम गण निकुञ्जको सुरक्षाका लागि खटिरहेको छ । यस गणले निकुञ्जको सुरक्षा मात्रै नभई निकुञ्जको विकास तथा प्रचार/प्रसारका लागि विभिन्न कार्यक्रमको सुरुवात गरेको छ । जैविक विविधता तथा प्रकृति संरक्षण प्रमुख चुनौतीका रुपमा देखा परिरहेको बेला रण बम गणले निकुञ्जको विकास तथा संरक्षणका साथै पर्या–पर्यटनलाई जोड दिदैं विविध कार्यक्रम गरिरहेको छ ।

संरक्षित क्षेत्रभित्रका सम्पूर्ण प्राकृतिक स्रोतहरूको सुरक्षा, वनस्पति तथा वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा सुरक्षा, संरक्षित क्षेत्रभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय सम्पदाहरूको सुरक्षा, भौतिक पूर्वाधारहरूको निर्माण, संरक्षण तथा सुरक्षा, चोरी सिकारी नियन्त्रण, संरक्षित क्षेत्रहरूमा प्रवेश गरेका पर्यटकहरूको सुरक्षा, संरक्षित वन्यजन्तुको संरक्षणका लागि संरक्षण क्षेत्रभन्दा बाहिर गएर पनि सुरक्षा तथा संरक्षण र संरक्षित क्षेत्रहरूभित्र विपद् व्यवस्थापनको कार्य गर्ने जस्ता जिम्मेवारी यस गणले लिएको छ ।

यसरी सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्न तथा प्रकृति संरक्षणका लागि यस गणले गएको शनिबार मंसिर १५ गते साईक्लिङ कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । निकुञ्जको १६ किलोमिटर क्षेत्रभित्र साईक्लिङ यात्रा गरेको थियो । ‘राईड फर यूनिटी, यूनिटी फर नेचर कञ्जरभेशन–टुर दि बाँके नेश्नल पार्क’ भन्ने मुख्य उद्देश्यका साथ साईक्लिङ कार्यक्रमको आयोजना गरिएको थियो । रण बम गण बाँकेको आयोजना तथा चार बाहिनी अड्डा, बाँके राष्ट्रिय निकुञ्ज, जेड एस एल, वाईल्ड लाईफ कञ्जरभेशन नेपाल, डब्लु डब्लु एफ, ट्रष्ट फर नेचर, नेपालगंज साईक्लिङ क्लब, होटल शिदार्थ, होटल सोल्टी तथा होटल सेन्ट्रल प्लाजा लगायतका विभिन्न निकायहरुसँगको समन्वय सहकार्यमा कार्यक्रम समापन गरिएको हो ।

राप्तिसोनारी गाउँपालिका समशेरगञ्ज बुच्छापुरबाट सुरु भएको साईक्लिङ ओभरी ब्यारेक पुगेर भव्य साँस्कृतिक कार्यक्रमका साथ समापन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै रण बम गणका गणपति, प्रमुख सेनानी प्रविन थापाले प्रकृति संरक्षण कार्यलाई थप प्रभावकारी एवम् उपलब्धिमूलक बनाउन साईक्लिङ कार्यक्रमको आयोजना गरिएको बताएका छन् । उनले भने,–‘पर्यटनको माध्यमबाट यस क्षेत्रलाई चिनाउन र माथी उठाउन सकिने थुप्रै सम्भावना छ्न तसर्थ बेलैमा सबै सरोकारवाला जुट्न अपरिहार्य छ । यो निकुञ्ज प्राकृतिक सौन्दर्य र जैविक विविधताको धरोहर हो, जसको संरक्षण र प्रवर्द्धन हाम्रो साझा जिम्मेवारी पनि हो । बाँके राष्ट्रिय निकुञ्ज हाम्रो पर्यावरणको संवर्धनका लागि महत्वपूर्ण रहनुका साथै यसले पर्यटन, स्थानीय संस्कृति र समुदायको समृद्धिका लागि पनि ठूलो योगदान पुर्याउँछ ।’

उनले यहाँको जैविक र सांस्कृतिक विविधताले नयाँ ऊर्जा र थप प्रेरणा प्रदान गर्ने बताउँदै बाँके राष्ट्रिय निकुञ्जको महत्वलाई बुझ्दै संरक्षण र समृद्धिका लागि सबैको योगदानको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा बोल्दै श्री चार बाहिनी अण्डाका बाहीनीपति सहायक रथि तथा कार्यक्रमका प्रमुख अतिथी रोशन समशेर जबराले साईक्लिङ यात्राको अनुभव सुनाउँदै निकुञ्जको सुन्दरताको बारेमा राम्रो सन्देश लिएर जान आग्रह गरेका थिए । सहायक रथि जबराले बाँके राष्ट्रिय निकुञ्जमा रण बम गणले आयोजना गरेको साईकल यात्राले निकुञ्ज घुम्न आउने पर्यटकहरुलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

वातावरणीय मित्रता र दिगो पर्यटन प्रवद्र्धनको प्रतीक भएको उल्लेख गर्दै जबराले वातावरणीय तथा जैविक विविधतासँग मित्रता कायम गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत सन्देश प्रवाह हुने धारणा व्यक्त गरे । यस कार्यक्रमले पर्यटकहरुलाई सकारात्क सन्देश प्रवाह गर्ने तथा पर्यटन प्रवर्धनलाई समेत टेवा पुर्याउने उनको विश्वास छ । प्रमुख सेनानी रविन श्रेष्ठ, दीपक गुरुङ, मोहित थापा लगायतले साईक्लिङ टिमको कमाण्डिङ गरेका थिए । साईक्लिङमा चितवन राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाटा वन्यजन्तु आरक्ष लगायतको समुहमा विभाजन गरी निकुञ्ज अवलोकन गरेका थिए । कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षक अधिकृत विरेन्द्र प्रसाद कंडेल, सहसेनानी उपेन्द्र शाही लगायत विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

बिधुत्मा रैका, प्रधान सम्पादक

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश

स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लबलाई