कोहलपुर, पुष १२,
कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१) को पाँचौं दिन शनिबार दर्शकहरुको सहभागिता उल्लेख्य रहेको छ ।
शुक्रबारसम्मको तुलनामा हेर्दा शनिबार दर्शकहरुले महोत्सवस्थल भरिभराउ थियो । महोत्सव सुरु भएदेखि पहिलो शनिबारसमेत परेका कारण दर्शकहरुको संख्या अपेक्षा गरिएको भन्दापनि बढि आएको आकलन छ । कोहलपुर–११ स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सवको पाँचौं दिन हजारौं दर्शक उपस्थित भएका थिए । दर्शकहरुको भिड अत्याधिक हुँदा दर्शक व्यवस्थापनमा निकै चुनौतिको सामना गर्नुपर्याे ।
अत्याधिक भीडका कारण टिकटसमेत होल्ड गर्नु परेको आयोजकले जनाएको छ । मुख्य प्रवेश गेटबाट दर्शकहरुको भीडभाड थाम्न नसकेपछि डिभिजन वन कार्यालय कोहलपुरको गेटलाई बाहिरने गेटको रुपमा प्रयोग गरिएको थियोे । दर्शकहरुको उल्लेख्य सहभागिता भएको महोत्सवमा कलाकारहरुले आफ्ना प्रस्तुति दिएका थिए । शनिबार राष्ट्रिय तथा स्थानीय कलाकारहरुले उपस्थित दर्शकलाई मनोरन्जन गराएका थिए ।
शनिबारको मुख्य आर्षकणको केन्द्रका रुपमा चर्चित गायिका मिलन नेवार, कृष्ण रेउले थिए । कलाकाार द्धोयले आफ्ना चर्चित गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । पछिल्लो समय निकै लोकप्रिय गायिकाका रुपमा स्थापित विपना सिंहलेपनि देउडा गीतहरु प्रस्तुत गरेकी थिइन् । नृत्याङ्गना आरुसी मगर, माया परियार, सानू चौधरी र डान्सर निरुता कार्कीको प्रस्तुति रहेको थियो ।
नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१) आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् ।
महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय कर्णाली रोधीघरले संगीत व्यवस्थापन गरिरहेको छ ।
यता महोत्सवको छैटौं दिन १४ गते मुख्य आकर्षक महोत्सवमा पछिल्लो समयकी निकै व्यस्त गायिका शान्ति श्री परियारको प्रस्तुति रहनेछ । गायक टंक तिमिल्सिना, भागिरथ चलाउने पनि आइतबारको मुख्य आकर्षणका रुपमा रहेका छन् । कोहलपुरकी चेली डान्सर करिश्मा शाहीको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैगरी डान्सर मीना पुनमगर र सानुचौधरीसमेत महोत्सवमा आउनेछिन् । यस्तै स्थानीय कर्णाली कला केन्द्रका कलाकारहरुको नियमित प्रस्तुति रहनेछ ।