कोहलपुर, पुष २१,
बाँकेको कोहलपुरमा यही पुस ९ गतेदेखि ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एक्स्पो–२०८१)’ भव्य रुपमा सम्पन्न भएको छ ।
नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको एक्स्पो आईतबार भव्यताका साथ सम्पन्न भएको हो । परिषदका अध्यक्ष कृष्ण बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी आचार्यले महोत्सवले आदिवासी जनजातिको परम्परागत संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नगर प्रमुख आचार्यले समाज आधुनिकता तर्फ उन्मूख हुने क्रममा आफ्ना परम्परागत संस्कृतिलाई भुल्ने क्रममा रहेको र यस्ता मेला महोत्सवले भुल्ने क्रममा रहेका अमूल्य संस्कृतिको संरक्षणमा सहयोग पुग्ने बताएका हुन् । आचार्यले जनजाति महोत्सवले साँस्कृतिक निकटता बढाउनुका साथै जनजातिका पहिचानलाई स्थापित गर्न र शिथिल बनेको अर्थतन्त्रलाई केही मात्रामा भए पनि चलायमान गराउन सफल भएको बताए । कार्यक्रममा नेपाल आदीवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् अध्यक्ष मंगल थारु, महोत्सव व्यवस्थापक अजय पुन मगर‘गोपाल’ लगायतका विभिन्न अतिथीहरुले आफ्ना मन्तव्य राखेका थिए ।
नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा आदिवासी जनजाति संग्रहालय निर्माणार्थ गत पुस ९ गते देखि सुरु गरिएको महोत्सव १७ गतेसम्म संचालन गरिने बताइएको थियो तर दर्शकहरुको उल्लेख्य सहभागिता बढ्दै गएकोले दर्शकहरुको मागलाइ सम्बोधन गर्दै थप ३ दिन पुस २० गते सम्म संचालन गरिएको छ । आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो ।