जातिय छुवाछुत तथा भेदभाव सम्बन्धि स्थानीय ऐन निर्माण गर्न सकिन्छ–नगर प्रमुख आचार्य

कोहलपुर, पुष २९,

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले दलित समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण गरी तत्सम्बन्धमा गर्नु पर्ने नीतिगत, कानूनी र संस्थागत सुधारका विषय पहिचान गरी नगरपालिकामा स्थानीय ऐन निर्माण गर्न सकिने बताएका छन् ।

नगर प्रमुख आचार्यले जातीय छुवाछूत, उत्पीडन र विभेदको अन्त्य गरी दलित उत्थान र विकासका लागि दलित हितसँग सरोकार राख्ने राष्ट्रिय नीति तथा कानून निर्माण भएको बताउँदैं आवश्यकता अनुसार स्थानीय ऐन तथा कानून बनाउँन सकिने बताएका हुन् । संविधान, ऐन कानूनमा उल्लेखित दलित अधिकार तथा यसको कार्यान्वयन पक्ष र दलित अगुवाहरुको भुमिका विषयक १ दिने अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख आचार्यले दलित समुदायको उत्थान तथा हितमा भएका विशेष व्यवस्था लगायत दलित हितसँग सम्वन्धित कानूनको प्रभावकारी रुपमा पालना भए वा नभएको विषयमा अनुगमन गरी पालना वा कार्यान्वयन गर्नेमा जोड दिएका थिए ।

उनले दलित समुदायलाई स्थानीय तथा राष्ट्रिय विकासको मूल प्रवाहमा समाहित गर्न तथा राज्यका सबै अंगहरुमा समानुपातिक सहभागिता सुनिश्चित गर्न मौजूदा नीति तथा कार्यक्रमको समिक्षा, अनुगमन तथा मूल्यांकन गर्ने र सोको प्रभावकारी कार्यान्वयनका लागि नगरपालिका अग्रपंक्तिमा रहेको उल्लेख गरेका छन् । विगतका वर्षहरुको तुलनामा जातिय विभेद धेरै नै हटिसकेको बताउँदै आचार्यले हालका मितिसम्म आफ्नो नगरमा स्थानीय नागरिकदेखि जनप्रतिनिधिहरु कोही पनि जातिय विभेदमा नपरेको बताएका छन् । उनले जातिय विभेद हरेक जातजातिमा रहेको बताउँदैं सबै सच्चिन आवश्यक रहेको बताउँदै पछि परेका दलित समुदायलाई राज्यका संयन्त्रसँग कसरी जोड्न सकिन्छ त्यस तर्फ सोच्न जरुरी रहेको बताए ।

उनले जातीय भेदभाव तथा छूवाछूत वा सामाजिक कुरीतिबाट पीडित भएको वा दलितको हक प्रयोग गर्न नदिएको कुनै व्यक्ति भएमा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरे । अमर बहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहेका आचार्यले । आचार्यले कुनै पनि कार्यक्रम तथा सभासमारोश गर्दा सधै एउटै दलित अगुवाको सहभागिता मात्रै नभई पछाडि परेका दलित समुदायको पनि सहभागिता सुनिश्चित गर्न सुझाव दिएका छन् । कार्यक्रममा विशिष्ठ अतिथी अधिवक्ता तथा दलित अगुवा मोती लाल नेपालीले कार्यक्रमको सहजिकरण गरेका थिए । कोहलपुर नगरपालिकाको सहयोग तथा दलित साँस्कृतिक संग्रहालय कोहलपुर २ को आयोजनामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख ईश्वरी प्रसाद बि.क., वडा नम्बर १२ का वडाध्यक्ष विरेन्द्र शाह, वडा नम्बर २ का वडाध्यक्ष हरि सिंह कठायत, नेकपा एमाले जिल्ला अध्यक्ष कुल प्रसाद भट्टराई, नेकपा माओवादी केन्द्रका बल बहादुर खड्का, दलित संघर्ष समिति संयोजक कृष्ण बि.क. रसाईली लगायतको सहभागिता रहेको थियो ।

 

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !