कोहलपुर, फागुन १७,
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा २०८१ को उद्घाटन खेलमा आयोजक रेसिङ साहरा फुटलब क्लब कोहलपुर विजयी भएको छ ।
लुम्बिनी फुटबल एकेडेमी घोराही बिच भएको खेलमो घोराहीलाई २–० ले पराजित गर्दै कोहलपुर रेसिङ साहरा विजयी भएको हो । साहराका लागि निराजन जङ्ग शाहीले खेल सुरु भएको २१ मिनेटमा पहिलो गोल दर्ता गरे । भने दोस्रो हाफमा क्षितिज थापाले १ गोल गरे ।
रेसिङ साहराका लागि पहिलो गोल गर्ने शाही म्यान अफ द म्याच भए । उनले नगर ५ हजार पुरस्कार प्राप्त गरेका छन् । गोल्डकपको दोस्रो दिन (भोली) साहरा फुटबल क्लब भारत र राईजिङ्ग स्टार फुटबल क्लब नवलपरासी बिच खेल हुनेछ । कोहलपुर रेसिङ साहरा क्लबका अध्यक्ष चक्त चिमाला क्षेत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रमुख अतिथी रहेका थिए । मुख्यमन्त्री आचार्यले दिप प्रज्वलन गर्दै गोल्डकपको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा संघीय सांसद सुर्य ढकाल, प्रदेश सभा सदस्य बसन्ती अधिकारी, सञ्जु चौधरी, कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य लगायत विभिन्न अतिथीहरुको सहभागिता रहेको थियो । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि ८ वटा टिमको सहभागिता रहने छ । तेस्रो खेलमा प्लानिङ्ग ब्वाईज युनाईटेड क्लब काठमाण्डौ र राईनो फुटबल क्लब गण्डकी प्रदेश बिच प्रतिष्पर्धा हुनेछ भने अन्तिम खेल अफ्रिकन राष्ट्र घाना फुटबल क्लब र काक्रेबिहार फुटबल क्लब सुर्खेत आमने सामने हुनेछन् । फाईनल खेल फागुन २४ गते दिउँसो ३ बजे हुनेछ ।
फुटबल अवलोकन गर्न आउने दर्शकहरुका लागि ५० रुपैया टिकटको व्यवस्थापन गरिएको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् ।