बिहानीपखको सूर्योदय, साँझमा सूर्यास्त, पृष्ठभूमिमा अपीदेखि सैपालसम्मका मनमोहक दृष्य

बिधुत्मा रैका,
कोहलपुर, बैशाख १२,

कैलाली जिल्लाको सुन्दर पहाडी क्षेत्रमा छ, मोहन्याल गाउँपालिका । तत्कालीन मोहन्याल, पण्डौन र सुगरखाल गाविस मिलेर बनेको मोहन्याल गाउँपालिका कुल क्षेत्रफल ६२६.९५ वर्ग किलोमिटरमा फैलिएको छ । मोहन्याल गाउँपालिको सिमाना पूर्वमा सुर्खेत, पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटी र सुर्खेत तथा दक्षिणमा गौरिगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकासँग जोडिएको छ । देशकै बढी जनसंख्या भएको जिल्लाअन्तर्गत पर्ने कैलालीको मोहन्याल गाउँपालिका भने विकास तथा जनघनत्वका हिसाबले निकै पछि परेको देखिन्छ । समुद्री सतहबाट एक हजार एक सय मिटरदेखि चुरे पर्वत फैलिएको स्थान १ हजार ७ सय मिटरको उचाइँमा पर्ने यो गाउँपालिका वन सम्पदा तथा प्राकृतिक सुन्दरतामा अग्रपंक्तिमा आउँछ । यही गाउँपालिकाको वडा नम्बर ७ राजकाँडालाई यसको उदाहरण मान्न सकिन्छ ।

पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि सुन्दर हरियाली । तल हेर्दा देखिने हरियाली जंगल र तराईको समथर भू–भाग तथा घुमेको कर्णाली । बिहानीपखको सूर्योदय, साँझमा सूर्यास्त । अनि पृष्ठभूमिमा अपीदेखि सैपालसम्मका हिमालहरुको मनमोहक दृष्य । त्यसमाथि
बर्दिया राष्ट्रिय निकुञ्जको तराई तथा पहाडी भूगोल दृश्यावलोकन । साँच्चिकै कुनै चित्रकारले कोरेको क्यानभासझैं लाग्छ राजकाँडा ।

तर प्राकृतिक रुपमा यति सुन्दर राजकाँडामा ‘काँडा’जस्तै बिझ्ने दुःख नभएका भने होइनन् । कर्णाली भन्दाबित्तिकै हाम्रो मानसपटलमा विकास नभएको क्षेत्र भन्ने चित्र कोरिन्छ । यहाँ विकास नै नभएको त भन्न सकिँदैन । तर भएको विकास पर्याप्त छैन । यहाँ विकास, समृद्धि, र पर्यटनका यति धेरै चीज छन्, जसले अथाह सम्भावना बोकेका छन् ।

अरु ऐयासी जीवन बाँचिरहँदा, सुखसुविधा भोगिरहँदा सुदूरका अधिकांश ग्रामीण बस्तीका नागरिकलाई बिहान खाए साँझ के खाने भन्ने पीर छ । त्यसो त सुदूरपश्चिमलाई राज्यको विभेदकारी दृष्टिले नै पछि पारेको छ । त्यसमाथि प्रदेश सरकारले पनि ध्यान दिन सकिरहेको छैन । नागरिकको जनजीवन सुधार्न, आर्थिक अवस्था उकास्न कुनै प्रभावकारी काम यहाँ भएका छैनन् । यस्ता क्षेत्रका नागरिकले सरकार हाम्रो अभिभावक हो भन्ने अनुभूति कहिले पाउने होलान् ।

अरु विकट क्षेत्रजस्तै राजकाँडामा पनि न विद्युत् सेवा पुगेको छ न टेलिफोन तथा इन्टरनेट नै पुग्न सकेको छ । विद्युत् नहुँदा अन्धकारमा बस्नुपर्ने उनीहरुको नियति टेलिफोन र इन्टरनेट नहुँदा सूचनाबाट वञ्चित हुनुपरेको छ । आजको यस्तो प्रविधिमैत्री समयमा पनि अत्यावश्कय चीजबाट वञ्चित हुनुको असली पीडा राजकाँडाका बासिन्दाहरुलाई नै सोध्नुपर्छ ।

स्थानीय तहमा नेताहरुले चुनावका बेला भाषणमा ‘एक घर, एक धारा’को नारा लगाउँछन् । अनि चुनाव जितेपछि उनीहरु हराउँछन् । समस्या भने जहाँको तहीँ हुन्छ । यहाँका बासिन्दा खानेपानी पाउन मात्रै घण्टौं हिँड्नुपर्छ । सरकारले शिक्षा, स्वास्थ्य र खेलकुद नागरिकको नैसर्गिक अधिकार हो भनिरहँदा यहाँका बालबालिकाहरु अहिलेसम्म पढाइबाट टाढै बस्नुपरेको छ । उनीहरुका लागि हातमुख जोर्नकै लागि संघर्ष गरिरहेका छन् ।

राज्यले सुत्केरी भत्ता दिन्छौं भनेर गर्भवती महिलालाई अस्पतालसम्म पु¥याउँछ । विडम्बना, अस्पतालसम्म पुग्ने बाटाघाटा सुगम छैनन् । यहाँका सुत्केरीले सेवा लिनुपरे नुन–मसला किन्नुपरे १३ किलोमिटर टाढा चिसापानी तथा लम्कि पुग्नुपर्छ । सरकार पर्यटन प्रवद्र्धन गर्ने भन्दै भ्युटावर निर्माणतिर लाग्छ । तर नागरिकको दैनिक जनजीवनसँग जोडिने कुरामा सामान्य पनि ख्याल गरेको देखिँदैन । राज्य पुनर्संरचनामा गएको करिब साढे सात वर्ष भइसक्यो । र पनि दुर्गम सधैंका लागि दुर्गम बनेको छ । त्यस्ता ठाउँमा संघीय वा स्थानीय सरकारको उपस्थिति खासै देखिँदैन । जसको परिणाम शिक्षा, स्वास्थ्य, खेलकुदजस्ता आधारभूत आवश्यकतका लागि पनि तराई झर्नुपर्ने बाध्यता रहेको छ ।

सुदूरपश्चिमको सुगम जिल्ला कैलालीलाई पश्चिमी भाषामा मलवार भनिन्छ । सुदूरपश्चिम प्रदेशका करिब सातवटा पहाडी क्षेत्रका स्थानीय बासिन्दा सुखको गन्तव्य खोज्दै तराई झर्ने जिल्ला पनि कैलाली नै हो । कैलालीमा सुदूरपश्चिमका पहाडी क्षेत्रभन्दा बाहिरका मानिस पनि बसोबास गर्छन् । त्यही कैलालीका पाँचवटा स्थानीय तहमध्येको एक मोहन्याल गाउँपालिकामा राज्यको दृष्टि पर्न सकेको छैन । छ न त यो गाउँपालिकामा स्थानीय सरकार छ । तर नागरिकहरुलाई स्थानीय सरकारको अपनत्व अझै हुन सकिरहेको भने छैन । अपनत्व होस् पनि कसरी ? एक किलो नुन किन्न ६ किलोमिटर पैदल उकालोओरालो हिँड्नुपर्छ । नुन लिन उस्तै टाढा लम्की पुग्नुपर्छ । मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडा यी समस्याबाट पर छैन ।

राजकाँडामा शिक्षा, स्वास्थ्य, यातायातलगायत विकास पूर्वाधार निर्माण उल्लेख्य रुपमा हुन सकिरहेको छैन । प्राथमिक तहको शिक्षा यहीँ उपलब्ध भए पनि माध्यमिक तहदेखि उच्च शिक्षाका लागि भने तराई नै झर्नुपर्ने बाध्यता छ । यति मात्रै होइन, यहाँका महिलाहरुका पीर पनि कम छैनन् । भौगोलिक रुपमा विकट तथा पारिवारिक चोटले अधिकांश आमाहरु एक्लिनुपरेको छ ।

अनेक गरिबी र समस्याबीच प्राकृतिक सुन्दरताका लागि राजकाँडा पछिल्लो समय निकै चर्चामा रहेको छ । यहाँको सुन्दरता नियाल्न छिमेकी जिल्ला र त्यसवरपरका मानिस पनि आउँछन् । कोही साइक्लिङ गर्दै कोही पैदलयात्रा गर्दै राजकाँडा पुग्छन् । घर, परिवार, व्यवसाय, कार्यालय, उही दैनिकी, अनि उस्तै समस्याबाट केही दिनको लागि भए पनि मुक्ति पाउन र शान्ति अनुभव गर्न मानिसहरु यहाँ आइपुग्छन् । एकाध घण्टाको उकाली–ओरालीमा चिसापानीदेखि धुलीकोट राजकाँडा पुगिन्छ । वरिपरि पहाडले घेरेको सानो मानवबस्तीको छेउमा धुलिकोट होमस्टे छ । बाइसे– चौबिसे धुलिकोटे राजा बसेको हुँदा उक्त होम स्टेको नामाकरण पनि धुलिकोट होमस्टेबाट भएको पाइन्छ ।

आत्मीयता, मीठो खाना र सस्तो मूल्यका लागि धुलिकोट होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । राजकाँडाको डाँडाबाट उदाउँदो तथा अस्ताउँदो सूर्य हेर्नकै लागि पनि यो होमस्टेमा पुग्ने गर्छन् । करिब चार वर्ष पहिलेदेखि स्थानीय मीनबहादुर बोहोराले होमस्टे सञ्चालन गर्दै त्यहाँ घुम्न आउनेहरुलाई आवासीय व्यवस्थापन गर्दै आएका छन् । उनले करिब एक सय जना पाहुनालाई उक्त होमस्टेमा आवासीय व्यवस्थापन गर्दै आएका छन् ।

राजकाँडामा यो होमस्टे अर्गानिक र परम्परागत खाना पाउने ठाउँका रुपमा परिचित बन्दै गएको छ । होमस्टे सञ्चालन गर्दाको बेलामा नै अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्नहरु मात्र पाहुनाहरुलाई खुवाउने गरी स्थापना गरिएको संचालक मीनबहादुर बोहोराले बताए । स्थानीय उत्पादनको स्वाद चाख्‍नकै लागि पनि होमस्टेमा गएर बस्नेको लहर बढेदै गएको उनी बताउँछन् ।

पर्यटन भनेकै नयाँ ठाउँमा घुमफिर गर्ने, प्रकृतिमा भएका विभिन्न सम्पदाको अवलोकन गर्ने हो । त्यस्तै, विभिन्न जातजातिका भाषा, संस्कृति अनेकौं सांस्कृतिक क्षेत्र पनि घुमफिर गर्दा नै थाहा पाइन्छ । तीनै स्थानको अवलोकन गर्न आफूहरु हाइकिङ आएको पर्यटक दीपक गुरmङले बताए । उनले राजकाडाँ निकै सुन्दर रहेको तर तथा पर्यटन प्रवद्र्धनका लागि विकास जरूरी रहेको बताए । गुरूङले भौगोलिक, जैविक तथा सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यतामा राजकाँडा निकै सम्पन्न भएको भन्दै यसलाई पर्यटकीय क्षेत्रमा रुपमा विकास गरिनुगर्ने बताए ।

यस्तै साइक्लिङ क्लबका अर्का सदस्य दिनेश थापामगर भन्छन्, ‘आन्तरिक पर्यटनका लागि पर्यटकीय सम्भावना बोकेका गन्तव्य धेरै छन् । ती गन्तव्यमा आवश्यक पूर्वाधार र उचित प्रचारप्रसार भएको छैन । पर्यटन विकासका लागि पूर्वाधार नभएसम्म दूरदराजका गाउँहरुमा पर्यटकहरु पुग्दैनन् ।’

प्राकृतिक रुपमा राजकाँडा निकै धनी छ । राजकाँडाको सुन्दरता सुनेर आफूलाई नजिकबाट हेर्न मन लागेर त्यहाँसम्म पुगेको रमेश थापाले बताए ।

राजकाँडा घुमफिर गर्न आउने पर्यटकहरुका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रशस्तै उदाहरण तथा सम्भावना छन् । राजकाँडाको डाँडामा रहेको जाल्पादेवी मन्दिर यहाँको धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्छ । तर पर्यटन प्रवद्र्धनका क्षेत्रमा आवश्यक पूर्वाधार बन्न नसक्दा यी क्षेत्र त्यसै ओझेलमा परेका छन् । स्थानीय तहदेखि संघीय सरकारले यसमा ध्यान दिनुपर्ने देखिन्छ ।

पर्यटनको विकास गर्न सडक यातायात, सूचना प्रविधि, आवास, स्वच्छ पिउने पानी, शौचालय, विद्युत् आपूर्ति, फोहोरमैला व्यवस्थापनजस्ता पूर्वाधार पर्यटकको पहिलो रोजाइमा पर्ने तर यस्ता थुप्रै अभाव यस क्षेत्रले भोगिरहेको हुँदा पर्यन फस्टाउन समस्या भएको छ । गाउँमा रहेका प्राकृतिक र ऐतिहासिक सम्पदा, विभिन्न धार्मिक मठ मन्दिर, आवत जावत मार्गहरुको विकासले राजकाँडालाई सम्पन्न बनाउन सकिने तथा त्यहाँका स्थानीयलाई सोही ठाउँमा रोक्न सकिने जिसीको भनाइ छ ।

राजकाँडाबाट देखिने उच्च हिमाल र तराई विभिन्न प्राकृतिक सुन्दरताले हाइकिङमा सहभागी प्रियंका थापालाई पनि लोभ्यायो । ‘निकै सुन्दर सुर्यास्त तथा अस्ताउँदो सुर्यको दृष्य, पहाड नदी, नाला, भारतीय सिमाक्षेत्र र कन्दराले लोभ्यायो,’ उनले भनिन्, ‘प्राकृतिक रुपमा राजकाँडा निकै धनी छ । म पहिलोपटक पुगेकी हुँ । यहाँको वातावरण निकै सुन्दर लाग्यो ।’

प्राकृतिक सौन्दर्यता हुँदाहुँदै पनि विकासको अवस्था जस्ताको त्यस्तै रहनु दुःखद हो । एकातिर पर्यटनको विकास नै आर्थिक विकास हो भने अर्कातिर विकासको महङ्खवपूर्ण आधार पर्यटन हो । पर्यटनले बहुआयामिक रुपमा विकासमा टेवा पु¥याउँछ । यसले प्रत्यक्ष अर्थोपार्जन गराउँदै रोजगारी सिर्जनामा महङ्खवपूर्ण भूमिका खेल्छ । साथै गाउँघरमा उत्पादन भएका वस्तुहरुको खपत पनि हुन्छ । यी तमात सम्भावना हुँदाहुँदै पनि राजकाँडामा पर्यटन तथा स्थानीय विकास पछि परेको देखिन्छ । न स्तरीय स्तरीय मोटरबाटो छ, न यहाँका पर्यटकीय क्षेत्रहरुको पर्याप्त मात्रामा प्रवद्र्धन हुन सकेको छ ।

स्थानीय सरकार आफ्ना नागरिकप्रति जवाफदेही बनी गम्भीरतापूर्वक अगाडि बढ्ने हो भने राजकाँडाले मुहार फेर्न समय लाग्दैन । त्यसका लागि केवल काम गर्ने इच्छाशक्ति भए पुग्छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !