बिधुत्मा रैका,
कोहलपुर, बैशाख १३,
अछामका डाँडाकाँडा यतिबेला मौसमी मौनताको साटो चहलपहलले भरिएका छन् तर यो चहलपहल जैविक विविधताप्रति चेतना फैलाउने हैन, बरु त्यसैको बिनाश गर्ने दिशातर्फ अग्रसर छ । स्थानीय जंगलहरूमा एक मौसमी फल तिर्खुला (चुत्रो) गाउँका बालबालिकाको मुखको स्वाद र बुढाबुढीको औषधि थियो, आजकाल पैसाको लोभमा जरैदेखि उखेलिँदैछ । तर यो ‘संकलन’ होइन, ‘उखेलाइ’ हो । त्यसको असर तत्कालीन होइन, पीढीगत हुने देखिन्छ । पछिल्लो समय नेपाली चुत्रोको माग आकस्मिक रूपमा बढ्यो । त्यसपछि सुरु भयो पहाडी गाउँतिरको दौडधूप । व्यवसायीहरु ट्रकसहित गाउँ चढ्न थाले र स्थानीयहरू चुत्रो भर्ने चटारोमा लागे । अधिक मूल्य पाउने लालसामा काण्ड मात्र होइन, जरासमेत खोतल्न थाले ।

एउटै जराको मूल्य सय किलोसम्म पुग्ने हुँदा धेरैले दीर्घकालीन असर बिर्सिएर तत्कालीन कमाइलाई रोजे । अछामको डिभिजन वन कार्यालयले भने चुत्रो संकलनका लागि निश्चित कोटा तोकेको दाबी गर्छ । तर त्यो कोटा कागजमा मात्र सीमित भएको अछामको रामारोशन क्षेत्रका स्थानीयहरू बताउँछन्–‘सङ्कलन होइन, लुटजस्तो हो यहाँ । वनको अनुहार नै फेरिएको छ ।’ सडक छेउछाउमा चुत्राका जराका ठेलीहरू सजिलै देखिन्छन् । जुन वन विनासको दस्तावेज जस्तो देखिन्छ ।
डिभिजन वन कार्यालय अछामको भनाई अनुसार जरा उखेल्न अनुमति नदिए पनि निजी जग्गामा भने जरासमेत उखेलिएका छन् । रामारोशन गाउँपालिकामा पछिल्लो समय जथाभावी रुपमा चुत्रोको उत्खनन र संकलन भइरहेकाले स्थानीयवासीहरू चिन्तित भएका छन् । यसले वातावरण, कृषि प्रणाली र स्थानीय जीविकोपार्जनमा गहिरो असर पार्न सक्ने खतरा देखिएको छ । स्थानीय कृष्ण रावल भन्छन्,–‘चुत्रो केवल बहुमूल्य जडीबुटी होइन, यसको जराले जमिन सम्हालेर राख्ने गर्छ । अहिले जरा नै उखालेर संकलन गरिँदा माटो खोलिने, भूक्षय हुने र आगामी दिनमा बाढी–पहिरोको जोखिम बढ्ने देखिएको छ ।’रावलका अनुसार, चुत्रो आयुर्वेदिक औषधिमा प्रयोग हुने महत्त्वपूर्ण वनस्पति हो । ‘तर यसरी अत्यधिक रुपमा दोहन हुँदै गएमा वनको जैविक विविधता नै गुम्न सक्छ ।’ उनले बताए, ‘भोलिका दिनमा दाउराको पनि संकट पर्न सक्छ । अनि यही जङ्गलमा भर पारी जीविकोपार्जन गर्दै आएका गाउँलेको जीवन पनि प्रभावित हुनेछ ।’ चुत्रोको असन्तुलित उत्खननले कृषि प्रणालीमा समेत नकारात्मक असर पार्ने र वन क्षेत्रको सन्तुलन भत्किने भएकाले यथाशीघ्र व्यवस्थापन आवश्यक रहेको उनी बताउँछन् । “हामीले अहिले नै सोचेनौं भने केही वर्षमा यहाँ न त चुत्रो रहनेछ, न त खेती गर्न सकिने जमिन,” रावलले गहिरो चिन्ता प्रकट गरे ।
चुत्रोको संकलनले जडीबुटीको अस्तित्वमै संकट उत्पन्न हुने खतरा देखिएको छ । रावलका अनुसार, यो वर्ष चुत्रो संकलनमा अति नै गरिएको छ । उनले भन,–‘जरा नै उखेलेर चुत्रो संकलन गरिएको छ । थुप्रै स्थानमा चुत्रो संकलन गरि राखेका थुप्रा देखिन्छन्, जसले भविष्यमा वन क्षेत्रमा चुत्रो नै नदेखिने अवस्था आउन सक्छ ।’ रावलले चिन्ता व्यक्त गर्दै थपे,–‘जंगलको प्राकृतिक सन्तुलन बिग्रने खतरा बढेको छ । यसप्रकारको दोहन रोकिएन भने स्थानीय जैविक विविधता गुम्नेछ ।

अछाम जिल्लामा चुत्रोको अव्यवस्थित दोहनबारे चासो बढिरहेका बेला डिभिजन वन कार्यालयका प्रमुख जनक पाध्याले संकलन प्रक्रिया नियमअनुसार नै भएको दाबी गरेका छन् । उनका अनुसार वन कार्यालयले चुत्रो संकलनका लागि वडाबाट सिफारिस लिई निश्चित कोटाभित्र रहनुपर्ने शर्तमा अनुमति दिएको हो । उनी भन्छन्,–‘हामीले काण्डको संकलनका लागि मात्र अनुमति दिएका थियौं । जरा उखेलिएको भेटिएको भए पनि ती अधिकांश निजी जग्गाबाट संकलन गरिएको हो ।’ पाध्याले वन क्षेत्रबाट जरैदेखि चुत्रो उखेल्ने अनुमति नदिइएको स्पष्ट पारे । यद्यपि केही स्थानमा जरा उखेलिएको भेटिएको उनले स्वीकार गरेका छन् । “अनुगमनको क्रममा यस्ता गतिविधि भेटिएपछि हालका लागि चुत्रो संकलन र निकासी रोकिएको छ,” पाध्याले जानकारी दिए । उनले वनको दीर्घकालीन संरक्षणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याए । “हामी व्यावसायिक लाभको नाममा जैविक विविधतामा क्षति नहोस् भन्ने पक्षमा छौं,“ उनले थपे ।
पछिल्लो समय अछामका पहाडी क्षेत्रमा व्यावसायिकरूपमा भइरहेको चुत्रो संकलनबारे रामारोशन गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष केशर बहादुर शाहले शुरूमा संकलनलाई विकासको अवसरका रूपमा लिइएको तर अहिले त्यो विनासमा रूपान्तरण हुन थालेपछि रोक लगाइएको बताएका छन् । उनले भने,–‘स्थानीयहरूलाई आम्दानीको बाटो खुलोस् भनेर गाउँपालिका तथा वन डिभिजनले सिफारिस दिएको थियो । तर जब जरा नै उखेल्न थालियो, वनको विनास देखियो, अनि हामी आफैंले रोक लगायौं ।’

चुत्रो पूर्णरूपमा हुर्किन २० वर्ष लाग्छ । तर एकपटक जरैदेखि उखेलियो भने त्यस ठाउँमा फेरि चुत्रो हुर्कन गाह्रो हुन्छ । अझ जराको ठाउँमा बनेको खाडल भूक्षय र पहिरोको नयाँ खतरा बन्छ । यति हुँदाहुँदै पनि संकलनलाई व्यवस्थित बनाउने नीति तथा मापदण्ड भएपनि सहि सदुपयोग भएको पाईदैन । नेपाल जडीबुटी व्यवसायी संघ आफैं पनि जरा उखेलेर संकलन गर्नु गलत भएको स्वीकार गर्छ । तर संरक्षणभन्दा पहिला सरकारसँग माग छ । चुत्रो, जसको फल पाक्दामात्रै स्थानीय बालबालिकाको खल्ती मिठाइले भरिन्थ्यो, अब बोरामा भरिएर तराई हुँदै भारत पुग्ने ‘एक्सपोर्ट आइटम’ बनेको छ । बोक्रा तीतो भए पनि फल अमिलो–मिठो हुने यो विरुवा अब खट्टा स्वाद होइन, तीतो यथार्थको प्रतीक बन्दैछ—जहाँ पैसाले प्रकृति जितिरहेको छ, तर अन्ततः हार्ने चाहिँ हामी सबै हौं ।




