कोहलपुर, फागुन २,
खजुरा गाउँपालिका–३ स्थित पिडारी खोलाको पुलमा फेला परेको शंकास्पद वस्तु डिस्पोजल गरिएको छ।

नेपाल प्रहरीले बिहान ०६:३० बजे शंकास्पद वस्तु देखिएको जानकारी गराएपछि श्री बज्रदल गणबाट सहसेनानी रिक्सन थापाको कमाण्डमा १/१४ को नफ्रीसहित बिडी टिम घटनास्थलतर्फ परिचालन भएको थियो । सुरक्षा टोलीले घटनास्थल पुगेर उक्त क्षेत्रलाई पूर्ण रूपमा सुरक्षित घेराबन्दी गरी नियन्त्रणमा लिएको थियो । नेपाली सेनाको बम निष्क्रियकरण टोलीले शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय पारेको थियो ।

प्रारम्भिक जाँचका क्रममा उक्त वस्तु आईईडी होक्स रहेको खुलेको जनाइएको छ । घटनापछि अवस्था सामान्य रहेको र सर्वसाधारणलाई कुनै क्षति नपुगेको दल गणका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।


