कमल सङ्घर्षको खस नेपाली भाषाको गजल सङ्ग्रह ‘हियाका कुडा’ सार्वजनिक

कोहलपुर, फागुन ३,

गजलकार कमल सङ्घर्षले आफ्नो तेस्रो साहित्यिक कृतिको रूपमा खस नेपाली भाषाको गजल सङ्ग्रह ‘हियाका कुडा’ बजारमा ल्याएका छन् ।

हियाका कुडाको काठमाडौंमा भव्य समारोहबीच बिछ विमोचन गरिएको छ । यसअघि कमलका ‘सडक’ र ‘खुडी’ गजलसङ्ग्रह प्रकाशित भइसकेका छन् । विमोचन कार्यक्रममा साहित्यप्रेमी, स्रष्टा र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहमा ‘हियाका कुडा’ माथि विवेक ओझा, साहित्यकार तथा संस्कृतिप्रेमी पूर्ण रावल तथा गजलकार–गीतकार शीतल कादम्बिनी ले गहन समालोचनात्मक धारणा प्रस्तुत गरेका थिए । वक्ताहरूले कृतिमा प्रयोग भएको भाषिक सौन्दर्य, मौलिक भावभूमि र समसामयिक चेतनालाई विशेष रूपमा प्रशंसा गरेका थिए।

‘हियाका कुडा’ खस भाषाको आत्मा बोकेको कृति भएको उनीहरूको भनाइ थियो । यस सङ्ग्रहमा सुदूर कर्नालीको जनजीवन, त्यहाँको मौलिक संस्कार–संस्कृति, प्रेम र पीडा, विद्रोह र सामाजिक जागरणका स्वरहरू जीवन्त रूपमा अभिव्यक्त भएका छन्। माटोको सुगन्ध, भेगको यथार्थ र समयको संवेदना समेटिएका गजलहरूले पाठकलाई आफ्नै परिवेशसँग पुनः साक्षात्कार गराउने उनीहरूले बताए । प्रेमका कोमल अनुभूति मात्र होइन, समाज परिवर्तनको चेत र आत्मसम्मानको स्वरसमेत गजलमार्फत प्रभावकारी रूपमा उजागर गरिएको छ।

विमोचन समारोहमा गजलकार कमल सङ्घर्षका खस गजलहरूले उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध बनाएका थिए। गजलप्रेमीहरूको बाक्लो उपस्थितिले मेहफिललाई अझ जीवन्त र उत्साहपूर्ण बनाएको थियो। कार्यक्रममा ४ वर्षीय अग्रिम भण्डारीले ‘हियाका कुडा’ भित्र समावेश शीर्ष गजल वाचन गर्दै विशेष आकर्षण थपेका थिए, जसले समारोहलाई थप भावुक र स्मरणीय बनाएको थियो ।

शिखा बुक्स का प्रमुख पुष्पराज पौडेल को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कवि न्याथन रायन, गजलकार लक्ष्मण संगम, महेश जैसी तथा सामाजिक अभियन्ता मदन बुढा ले पनि सङ्ग्रहबाट गजल वाचन गर्दै कार्यक्रमलाई सार्थक बनाएका थिए। कार्यक्रमको सञ्चालन गजलकार तपेन्द्र घोडासैनीले सहज र आकर्षक ढङ्गले गरेका थिए ।
‘हियाका कुडा’ ले खस भाषाको साहित्यिक परम्परामा नयाँ ऊर्जा थप्दै सुदूर कर्नालीको आवाजलाई व्यापक साहित्यिक वृत्तमा पुर्‍याउने अपेक्षा गरिएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !