संघर्ष र समर्पणको प्रतीकः बिन्दु रावल

कोहलपुर, बैशाख १३,

अछामको राजनीतिक र सामाजिक इतिहासमा संघर्ष र समर्पणको अर्को नाम बनेकी बिन्दु रावलले नेकपा एमाले अछामको उपसचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

नेकपा एमाले अछामको ९औं जिल्ला अधिवेशन प्रारम्भसँगै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन् । रावलको उम्मेदवारीले जिल्लाभर महिला सशक्तिकरण आन्दोलनमा नयाँ उत्साह र ऊर्जा थपिएको अनुभूति भएको छ । प्रतिनिधिहरूले उनलाई भविष्यका लागि सशक्त र प्रभावशाली महिला नेतृको रुपमा हेरिरहेका छन् ।

बिन्दु रावलको संघर्ष र योगदान
बिन्दु रावलको राजनीतिक र सामाजिक यात्रा निरन्तर संघर्ष, इमान्दारिताको उत्कृष्ट उदाहरण हो । २०६२ देखि २०६५ सालसम्म महिला अधिकार मञ्च अछामको जिल्ला अध्यक्षको भूमिकामा रहेर उनले अछाम जिल्लामा महिलाका मुद्दालाई सशक्त ढंगले उठाउने अभियानको थालनी गरिन्।

त्यसपछि २०६६ देखि २०७१ सम्म अनेम संघ अछामको जिल्ला सचिव भएर उनले दुई कार्यकालसम्म महिला आन्दोलनको नेतृत्व गरिन् । सामाजिक क्षेत्रमा पनि उनको सक्रियता उत्तिकै रह्यो। २०६८ देखि २०७१ सम्म सेवक नेपाल संस्थाको उपाध्यक्षका रुपमा, र २०७२ देखि २०७८ सम्म सोही संस्थाको टिम लिडरको भूमिकामा रही उनले महिला, बालबालिका र वञ्चित समुदायका अधिकारका लागि उल्लेखनीय काम गरिन् ।

२०७० सालमा अन्तरपार्टी महिला सञ्जाल अछामको सचिव भएर, र २०७५ सालमा सोही सञ्जालको जिल्ला अध्यक्षको रूपमा उनी अघि बढिन् । त्यस्तै, महिला मानव अधिकार रक्षक सञ्जाल अछामको जिल्ला अध्यक्ष (२०७३–२०७४) हुँदा उनले महिला हिंसा विरुद्धका आन्दोलन र मानव अधिकार प्रवद्र्धनमा निर्णायक भूमिका निभाइन्।

चुनावी जित र जनविश्वास
२०७९ सालको स्थानीय तहको चुनावमा बिन्दु रावलले बान्नीगढी जयगढ गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार भएर नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनलाई पराजित गर्दै ऐतिहासिक विजय हात पारिन् । उपाध्यक्षको रुपमा उनले सुशासन, विकास र महिला सशक्तिकरणमा जनताको गहिरो विश्वास जित्न सफल भएकी छन् । उनको नेतृत्वमा बान्नीगढी जयगढ गाउँपालिकामा सामाजिक तथा संरचनागत सुधारका थुप्रै महत्वपूर्ण पहलहरू भएको जनविश्वास छ ।

राजनीतिक यात्रा र दृष्टिकोण
२०७५ सालदेखि बिन्दु रावल नेकपा एमाले अछाम जिल्ला कमिटीकी सदस्य तथा महिला विभाग प्रमुखका रूपमा क्रियाशील छन् । राजनीतिलाई सेवा र परिवर्तनको माध्यम मानेकी रावल सधैं महिला अधिकार, सामाजिक न्याय र समावेशी विकासका लागि दृढतापूर्वक उभिँदै आएकी छन् ।

उनले भनेकी छन्,–“संघर्षबाट आर्जन गरेको अनुभव, सीप र ज्ञान अब पार्टी र जिल्लाको समग्र विकासमा समर्पित गर्ने समय आएको छ ।’’ यही सोच र प्रतिबद्धतासहित उनी एमाले अछामको उपसचिव पदका लागि अघि बढेकी हुन् ।

शिक्षा र सामाजिक पहलकदमी
पाटन क्याम्पस, काठमाडौंबाट समाजशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेकी रावलको अगुवाइमा अछाम जिल्लामा थुप्रै महिला सशक्तिकरण कार्यक्रम सञ्चालन भएका छन् । महिला हिंसा विरुद्धको आन्दोलन होस् वा समावेशी विकासको अभियान उनले सधैं अग्रपंक्तिमा रहेर काम गरेकी छन् । उनको सक्रियता अछामका महिला, दलित, वञ्चित तथा पिछडिएको समुदायको पक्षमा निरन्तर आवाज बनेर गुन्जिरहेको छ ।

आशाको किरण
अछामजस्तो दुर्गम र चुनौतीपूर्ण जिल्लामा बिन्दु रावल जस्ता अनुभवी र समर्पित महिला नेतृको सक्रियता एक नयाँ आशाको किरण बनेको छ । उनको उम्मेदवारीले एमाले मात्र होइन, समग्र जिल्लाभर महिला नेतृत्वमा विश्वास र अपेक्षाको नयाँ लहर ल्याएको एमाले वृत्तमा चर्चा भइरहेको छ । पार्टीभित्र र बाहिर दुवैतर्फ बिन्दु रावलप्रति ठूलो भरोसा राखिएको छ कि उनको नेतृत्वमा अछामले नयाँ उचाइ हासिल गर्नेछ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !