नेकपा एमाले अछामको ९औं जिल्ला अधिवेशन सुरु, नयाँ नेतृत्व चयनको प्रक्रिया तिव्र

कोहलपुर, बैशाख १३,

नेकपा एमाले अछामको बहुप्रतीक्षित ९औं जिल्ला अधिवेशन आजबाट सदरमुकाम मंगलसेनमा भव्य समारोहका साथ सुरु भएको छ ।

पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अधिवेशनको औपचारिक उद्घाटन गरे । अधिवेशन १५ गतेसम्म सञ्चालन हुनेछ । यद्यपि प्रदेशका अन्य आठ जिल्लामा अधिवेशन समयमै सम्पन्न भइसकेका थिए, अछाममा भने केन्द्रमै देखिएको आन्तरिक विवादका कारण ढिलाइ भएको थियो। अब उद्घाटन भएसँगै नयाँ नेतृत्व चयन प्रक्रिया तीव्र भएको छ ।

पार्टीभित्र सकेसम्म सहमतिका आधारमा नेतृत्व टुंग्याउने प्रयास भइरहेको छ । तर अध्यक्ष पदका आकांक्षी धेरै देखिएकाले अन्तिममा चुनावी प्रतिस्पर्धाबाट निर्णय हुने प्रबल सम्भावना छ । हालसम्म सात नेताहरू अध्यक्ष पदका लागि आकांक्षीका रूपमा चर्चामा छन् ।

प्रतिस्पर्धीहरूको भीड
अध्यक्ष पदमा डिबी साउँदसँगै हालका अध्यक्ष चन्द्र बहादुर बोहरा, भीम रावल (कालोटोपी), शिवप्रसाद उपाध्याय, बमबहादुर विसी, र तिलक कुँवर पनि प्रमुख दाबेदारका रूपमा देखिएका छन् । साथै, केही समयअघि नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किएका नेता हिरण्ड भट्टराईको नाम पनि अध्यक्ष पदको प्रतिस्पर्धामा जोडतोडका साथ उछालिएको छ ।

संगठनात्मक दिशानिर्देशनको घडी
अधिवेशनले जिल्लाको आगामी संगठनात्मक दिशा र भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण मोडका रूपमा लिइएको छ । अध्यक्ष पदका आकांक्षीहरूबीचको चर्को प्रतिस्पर्धाले अधिवेशनलाई अझै रोचक र चासोपूर्ण बनाएको छ ।

सकेसम्म एकताको आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहे पनि अन्तिम घडीमा प्रतिस्पर्धात्मक निर्वाचन नटर्न सक्ने अनुमान गरिएको छ । सदस्यहरू र प्रतिनिधिहरूले नयाँ नेतृत्वसँग संगठनलाई थप मजबुत, अग्रगामी र जनमुखी बनाउने अपेक्षा राखेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !