अछाममा म्याद गुज्रेका चिसो पेय पदार्थ खुलेआम बिक्री, प्रशासनले सुरु गर्यो अनुसन्धान

कोहलपुर, बैशाख १३,

गर्मी बढेसँगै अछाम जिल्लामा चिसो पेय पदार्थको माग उच्च भएको छ ।

तर, यससँगै म्याद गुज्रिएका पेय पदार्थ खुलेआम बिक्री भइरहेका छन्, जसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खतरा निम्त्याएको छ । शनिबार सदरमुकाम मंगलसेनस्थित एक होटलमा म्याद गुज्रिएको ‘मिरिण्डा’ पेय पदार्थ फेला परेको छ । भेटिएको मिरिण्डाको उत्पादन मिति १७ जुन २०२४ र म्याद समाप्ति मिति १७ डिसेम्बर २०२४ रहेको पुष्टि भएको छ। यसअनुसार, मिरिण्डाको उपभोग्य अवधि चार महिना अघि नै सकिएको थियो ।

जाँचका क्रममा खुलासा भएअनुसार, साँफेमा रहेको सेती सप्लायर्सले म्याद सकिएको चार महिनापछि मात्र उक्त पेय पदार्थ बजारमा पठाएको थियो । होटल सञ्चालकका अनुसार, गत चैत १९ गते सेती सप्लायर्सकै गाडीमार्फत मिरिण्डा लगायतका सामग्री खरिद गरिएको थियो ।

पुरानो आरोप फेरि दोहोरियो
सेती सप्लायर्समाथि यसअघि पनि म्याद गुज्रेका सामग्री बजारमा पठाएको गुनासो उठेको थियो । साथै, उनीहरूकै ‘सेती जल’ ब्रान्डको सिल प्याक पानीको बोतलमा किरासमेत भेटिएको आरोप पनि लागेको थियो । तर, किरा भेटिएको विषयलाई त्यसबेला सामसुम पारिएको बताइन्छ । यस घटनापछि सेती सप्लायर्ससँग सम्पर्क गर्न प्रयास गर्दा उपलब्ध फोन नम्बरहरूमा पटक–पटक सम्पर्क गर्दा पनि कुनै जवाफ प्राप्त हुन सकेन ।

प्रशासनले दियो अनुसन्धानको आश्वासन
म्याद गुज्रेका पेय पदार्थ बिक्री भएको खुलेपछि जिल्ला प्रशासन कार्यालय अछामले तत्कालै अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बजार अनुगमन गरी दोषीहरूलाई कानुनी कारबाही अघि बढाइने स्पष्ट पारे । उनले भने,–‘उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने कुनै पनि गतिविधिलाई कानूनबमोजिम कडा कारबाही गरिनेछ ।’

निष्कर्ष
गर्मीको मौसममा बजारमा चिसो पेय पदार्थको माग बढ्ने क्रममा म्याद गुज्रेका उत्पादन खुल्ला रूपमा बिक्री हुनु अत्यन्त चिन्ताजनक विषय बनेको छ । यसप्रकारका लापरवाही र बेवास्तीलाई समयमै नियन्त्रण नगरे जिल्ला मात्र नभई सर्वसाधारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम आउन सक्ने देखिएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !