कोहलपुर, बैशाख १३,
बाँकेको नेपालगंजमा रहेको क्षेत्रिय तालिम केन्द्र सुर्खेत हाल नेपालगंजमा शनिबार ‘प्रहरीसँग काव्य साँझ’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
साहित्य र सुरक्षाबीचको सम्बन्धलाई थप सुदृढ गर्न तथा सृजनात्मक क्षमताको अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल प्रहरीले विशेष कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा चर्चित कवि विपी अस्तुले नखस्नु, फेक आइडी र प्रहरी सुनाएका थिए । कवि तथा गजलकार गोल्डेन उद्भाषले मर्निङवाक,अर्को एउटा कुरुक्षेत्र,म किसान कवितासहित गजल सुनाउँदा दर्शकहरु मन्त्रमुग्ध बनेका थिए । भने कवि खेम बतास, हेमन्त शिशिर, हेम प्रकाश मञ्जिल र देवकी निरौलाले आफ्ना समसामयिक र सशक्त कविता वाचन गरेका थिए । कविहरूका सिर्जनामा समाज, समय र मानवीय भावनाका गहिरा पक्षहरू उजागर भएका थिए । कवितामा नेपाल प्रहरी निकै नै रमाएको थियो । कविहरुले दर्शकलाई निकै प्रभावित बनाएका थिए ।
कार्यक्रममा तालिममा रहेका प्रहरी जवानहरूले पनि आफ्नो साहित्यिक प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरूले लेखेका कविता, मुक्तक र गद्यले प्रहरी संगठनभित्र सृजनशीलता र अभिव्यक्तिको गहिरो सम्भावना रहेको सन्देश दिएको थियो । विषेश गरि आफ्नो बालापन तथा आमालाई सम्झिदैं आफ्ना रचना सुनाएका हुन् ।
कार्यक्रममा कथाकार महेश विक्रम शाहले साहित्य र पठन संस्कृतिको विकास हुन जरुरी रहेको बताएका थिए । उनले आम नागरिक मात्रै नभई प्रहरीहरुले पनि किताब पढ्ने बानी बसाल्नुपर्ने, यसले व्यक्तित्व विकास र सोचको स्तर उकास्न मद्दत गर्ने कुरा उल्लेख गरे । शाहले लेखन र पढाइलाई जीवनशैलीमा जोड्न सके सामाजिक र मानसिक रूपान्तरण सम्भव हुने धारणा राखे ।
कार्यक्रमको समापन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नान्तिराज गुरुङले प्रहरीसँग काव्य साँझ आयोजना गर्नुको मूल उद्देश्यबारे धारणा राख्दै यस्ता कार्यक्रमहरुले प्रहरी संगठन मानवियता र सिर्जनात्मकतामा पनि अब्बल हुने बताए । एसएसपी गुरुङले साहित्यिक चेतना विकासले प्रहरीको सोचाइलाई अझ व्यापक, संवेदनशील र जिम्मेवार बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
उनले प्रहरीलाई कठोर अनुशासन र कर्तव्यबोधसँगै भावनात्मक र सृजनात्मक पक्षबाट पनि सशक्त बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने उल्लेख गरे । प्रहरीसँग काव्य साँझ जस्ता कार्यक्रमहरूले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने, सिर्जनशीलताको प्रवद्र्धन गर्ने तथा मानवीय सम्वेदनालाई बुझ्ने संकेत दिएका छन् । यस कार्यक्रमले प्रहरीभित्र लुकेका सर्जकहरूलाई पहिचान दिलाउन सहयोग पु¥याएको मात्र नभई, साहित्यको माध्यमबाट समाजसँग नजिकिने मार्ग निर्माण गरेको छ ।




