कोहलपुर, बैशाख १४,
नेकपा (एमाले) अछामको ९औं जिल्ला अधिवेशन अन्तर्गत बन्दशत्र अहिले पार्टी कार्यालयको हलमा जारी छ ।
अधिवेशन शुक्रबार मंगलसेनस्थित खुलामञ्चमा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले उद्घाटन गरेका थिए । जिल्लाभरिबाट ४४७ जना प्रतिनिधिहरुको सहभागिता रहेको अधिवेशनको बन्दशत्रमा पार्टीको आर्थिक तथा सांगठनिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष तथा अछाम जिल्ला इञ्चार्ज झपट बहादुर बोहराको अध्यक्षतामा सञ्चालन भैरहेको छ । बोहरासँगै केन्द्रीय सदस्य यज्ञ बोगटी, कमल तिमिल्सैना, प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी र प्रदेश सदस्य पशुपति कुँवर सदस्यका रुपमा रहेका छन् ।

नेतृत्व चयनका लागि निर्वाचन मण्डलले कार्यतालिका तथा मतदाता नामावली सार्वजनिक गरिसकेको छ । नेताहरुले सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन गर्ने प्रयासमा जोड दिएका छन् । सहभागी प्रतिनिधिहरुले प्रतिवेदनमाथि दिएका सुझावहरु संकलन गरिएको छ, जसलाई आगामी दिनमा सुधार गर्दै लैजाने एमाले अछामले जनाएको छ ।
अध्यक्ष पदका लागि हालका अध्यक्ष चन्द्र बोहरा, सचिव भीम रावल (कालोटोपी), शिव प्रसाद उपाध्याय, बम बि.सी., तिलक कुँवर र डि.बी. साउँद आकांक्षी रहेका छन् । संकटकालिन अवस्थाबाट संगठनलाई अगाडि बढाएको उल्लेख गर्दै अध्यक्ष बोहराले आफुलाई पुनः सर्वसम्मतिमा नेतृत्व प्रदान गरिनेमा विश्वास व्यक्त गरेका छन् ।



