नेकपा (एमाले) अछाम उपाध्यक्षमा डम्बर बि.सी.को उम्मेदवारी : युवा जोश र संगठनात्मक अनुभवको समिश्रण

कोहलपुर, बैशाख १४,

नेकपा (एमाले) अछामको आसन्न जिल्ला अधिवेशनमा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष तथा पार्टी जिल्ला उपसचिव डम्बर बि.सी.ले उपाध्यक्ष पदमा दाबी प्रस्तुत गरेका छन् ।

युवा पुस्ताको प्रतिनिधित्वलाई संस्थागत गर्दै जनभावना र कार्यकर्ता भावनालाई सँगाल्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताउँदै बि.सी.ले संगठनप्रतिको प्रतिबद्धता र आफ्ना अनुभवका आधारमा उम्मेदवारी अघि सारेका हुन् । २०६२ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरू गरेका बि.सी.ले अनेरास्ववियुबाट नेतृत्वदायी भूमिकामा लगातार जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रारम्भिक तहको नेतृत्व हुँदै बिरेन्द्रनगर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन उपसभापति पदसम्मको यात्रा तय गरेका उनले संगठन निर्माण र आन्दोलनमा अग्रणी भूमिका खेलेका थिए ।

पार्टीको भातृ संगठन अनेरास्ववियुमा जिल्ला सचिब, अध्यक्षदेखि केन्द्रीय सदस्य र स्थायी समिति सदस्यसम्मको जिम्मेवारी सम्हालेका बि.सी.ले संगठन सुदृढीकरणमा उल्लेखनीय योगदान पु¥याएका छन् । सुप सह–इन्चार्जको रुपमा समेत उनी सक्रिय रहेका थिए । पार्टीको सांगठनिक संरचनाबाट हुँदै स्थानीय सरकारको नेतृत्वमा उक्लिएका बि.सी.ले तुर्माखाँद गाउँपालिकाको अध्यक्षका रुपमा पारदर्शी, जनमुखी र विकासमुखी शासन पद्धति अगाडि सारेका छन् । तुर्माखाँदलाई जिल्लाकै उदाहरणीय पालिका बनाउन उनले नेतृत्वदायी भूमिका खेलेका छन् ।

संगठन निर्माणदेखि विकास निर्माणसम्मको यात्राले बि.सी.लाई अब जिल्ला स्तरमा अझ ठूलो जिम्मेवारी सम्हाल्न सक्षम बनाएको छ । मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा स्नातकोत्तर (एमए) अध्ययन गरेका बि.सी.ले राजनीतिक स्थायित्व, सैद्धान्तिक स्पष्टता र संगठनात्मक मजबूतीलाई आफ्नो मूल मन्त्र बनाएका छन् ।

उनले राजनीतिमा विचार, संगठन र व्यवहारको सन्तुलन आवश्यक रहेको बताउँदै आएका छन् । उनले भने,–‘म केवल पदका लागि होइन, पार्टी र जनताको बीचमा मजबुत सेतु बन्ने जिम्मेवारीका लागि अघि बढेको हुँ ।’ जिल्ला अधिवेशनलाई नयाँ ऊर्जा दिन सक्ने क्षमता भएका उम्मेदवारका रुपमा डम्बर बि.सी.को उम्मेदवारीलाई प्रतिनिधिहरुले सकारात्मक रूपमा लिएका छन् । संगठनात्मक अनुभव, सफल नेतृत्व क्षमता र युवा सोच भएका कारण बि.सी.को सम्भावनालाई धेरैले आशावादी दृष्टिले हेरिरहेका छन् । कम उमेरमै कांग्रेसको बलियो पकड रहेको तुर्माखाँद गाउँपालिकामा एमालेलाई विजय दिलाउन सफल भएका बि.सी.लाई अछामको नयाँ पुस्ताका सम्भावनाशील नेताका रुपमा हेरिएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !