कोहलपुर, बैशाख १६,
गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार कार्यक्रममार्फत हुम्लाकी एक जटिल अवस्थाकी गर्भवती महिलाको सफल उद्धार गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भवती महिलाको सफल उद्धार गरिएको हो । वैशाख १६ गते हुम्ला जिल्ला, सिमकोट गाउँपालिका–२ की एक महिलाको प्रसूति जटिलता देखिएपछि नेपाली सेनाको हवाई साधन प्रयोग गरी उनलाई उद्धार गरिएको हो । ती महिलालाई तत्कालै प्रदेश अस्पताल, सुर्खेतमा भर्ना गराई उपचार सुरु गरिएको छ ।
दुर्गम तथा भौगोलिक रूपमा पहुँचविहीन क्षेत्रका महिलाहरूलाई लक्षित गरी सञ्चालित यो कार्यक्रमले गर्भवती तथा सुत्केरी अवस्थाका महिलाहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । कार्यक्रमले जटिल अवस्थाका महिला तथा नवजात शिशुको जीवनरक्षा गर्न योगदान पु¥याउँदै आएको मन्त्रालयले जनाएको छ । हुम्लाजस्ता दुर्गम क्षेत्रमा यस्तो उद्धार सेवाले स्थानीय जनतामाझ आशाको किरण दिएको छ ।