कोहलपुर-१ का ९१ भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

कोहलपुर, बैशाख २१,

कोहलपुर नगरपालिका–१ का ९१ भूमिहीन दलित र सुकुम्बासी परिवारले पहिलो चरणमा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् ।

शनिबार एक विशेष समारोहबीच ११२ जनामध्ये ९१ जनालाई लालपुर्जा प्रदान गरिएको हो । कार्यक्रममा भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारी प्रमुख अतिथि रहेका थिए भने भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालको अध्यक्षता रहेको थियो । मन्त्री अधिकारीले कोहलपुर देशभरका ७५३ पालिकामध्ये चौथो पालिका भएको र लुम्बिनी प्रदेशमै पहिलो भएको बताए, जसले भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गा हस्तान्तरण गरेको हो ।

नगर प्रमुख पूर्ण प्रसाद आचार्यले यस ऐतिहासिक उपलब्धिका लागि सबै सरोकारवालाप्रति आभार प्रकट गर्दै बाँकी वडामा पनि लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । ‘अब बाँकी वडामा पनि क्रमशः वितरण हुन्छ, ढुक्क हुनुहोस्,’ उनले भने । भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष खनालले भूमिहीन दलित तथा सुकुम्बासीलाई रु २५ निवेदन शुल्कबाहेक अन्य शुल्क नलिएको स्पष्ट पार्दै अन्य जग्गावालाले क्षेत्रअनुसार राजश्व बुझाउनुपर्ने व्यवस्था रहेको बताए ।

कार्यक्रममा संघीय र प्रदेश सांसद, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। संचालन कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रिया स्मृति ढकालले गरेकी थिइन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर