कोहलपुर, बैशाख २४,
इलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले पत्रकार र प्रहरीबीचको सम्बन्धलाई समधुर बनाउँदै सहकार्यमा जोड दिएकी छन् ।
आफूले समाचार कक्षमा काम गरिसकेको बताउँदै डिएसपी खनालले केन्द्रदेखि नै पत्रकारहरूको बीचमा रही काम गरेको अनुभव सुनाईन् । उनले भनिन्,–‘प्रहरी र पत्रकार दुवै राज्य र समाजलाई अघि बढाउने जिम्मेवार निकाय हौं, फरक केवल प्रक्रिया मात्र हो ।’ डिएसपी खनालले आफूलाई महिला डिएसपी भन्दा पनि डिएसपी भनेर बुझिदिन आग्रह गर्दै भनिन्,–‘नेपाल प्रहरी सिस्टमले चल्ने हो, महिला पुरुषले होइन ।’ उनले प्रहरीलाई नागरिकमैत्री बनाउँदै जनताको विश्वास जित्ने गरी कार्य सम्पादन गर्ने दृढता व्यक्त गरिन् । आफ्नो विश्वासलाई गुम्न नदिन आग्रह गर्दै डिएसपी खनालले मिलेर काम गर्ने बताईन् ।
उनले लागूऔषध कारोबार, साइबर अपराध, महिला सम्बन्धी मुद्दा लगायतका विषयमा जनचेतना फैलाउन पत्रकारहरूसँग सहकार्यको अपेक्षा गरेकी छन् । सूचना प्रवाहलाई चुस्त र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरिन् । सूचना प्राप्तिका लागि सूचना अधिकारी राखिएको हुँदा आफूलाई आवश्यक परेको सूचना लिनसक्ने बताईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरिले पत्रकारहरूको तटस्थ भूमिकामा जोड दिँदै भने,–‘हामी प्रशंसा गर्छौं तर अति प्रशंसा गर्दैनौं, निन्दा गर्छौं तर अति निन्दा गर्दैनौं ।’ उनले प्रशासकहरूमा दम्भ नहोस् भन्ने सन्देश दिँदै सबैमा अपनत्व र समर्पणको भावना विकास गर्नुपर्ने धारणा राखे ।
त्यस्तै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विष्णु बेल्वासेले प्रहरी प्रमुखहरू आउँदा परिचयात्मक कार्यक्रम हुने गरेको तर कार्यकालको समिक्षा तथा विदाई कार्यक्रममा पत्रकारहरूसँग भेटघाट हुने परम्परा नरहेको उल्लेख गर्दै भविष्यमा त्यस्तो अभ्यास थालिनुपर्ने सुझाव दिए । अन्तक्रियामा संलग्न सञ्चारकर्मीहरू प्रदीप वाग्ले, स्मृति ढकाल, प्रमोद रिजाल, पुष्पराज हमाल, कुशल दलामी, कपिल अञ्जान, रवि रोकाया, हेमन्त वि.क. लगायतले कोहलपुर पश्चिम नेपालको केन्द्रविन्दु र पहाडी जिल्लाको प्रवेशद्वार भएको कारण यहाँ लागुऔषध कारोबारदेखि विभिन्न अपराधका गतिविधि बढी हुने गरेको जनाउँदै प्रहरी कार्यप्रणाली चुस्त, निष्पक्ष र नागरिकमैत्री होस् भन्ने अपेक्षा व्यक्त गरे ।
मुस्कान सहितको प्रहरी र प्रहरी मेरो साथी भन्ने युक्तिलाई आत्मसाथ गर्दै पत्रकारहरूले नयाँ आउनुभएकी डिएसपी लक्ष्मी खनाललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।



