कोहलपुर, बैशाख ३१,
कोहलपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
नगर प्रमुख पूर्ण प्रसाद आचार्य प्रमुख जवाफदेही रहेको कार्यक्रममा कार्यक्रममा नगरबासी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । वडास्तरबाट पनि सहभागिता उत्साहजनक देखिएको थियो । वडा नं. २ का वडाध्यक्षले आफ्नो वडामा सञ्चालित विकास निर्माणका काम, सामाजिक कार्यक्रम तथा सेवाप्रवाहबारे जानकारी प्रस्तुत गर्दै आफ्नो वडालाई हरेक समस्याबाट उन्मुक्त पार्ने बताए । उनले हालसम्म वडाको विकासका लागि लागेको बताउँदै सडक तथा नालीको स्तरोन्नतीका लागि काम गरेको जानकारी दिए ।
सुनुवाइमा द्वन्द्वपीडितका समस्या, सडक तथा नाली व्यवस्थापन, शिक्षा, स्वास्थ्य, महिला र दलितका सवालहरू, साथै नगरभित्र भइरहेको विकास निर्माणको गुणस्तर लगायतका विषयमा खुला प्रश्नहरू उठाइएका थिए । नगर प्रमुख आचार्यले नागरिकबाट आएका सबै प्रश्नको जवाफ दिदैं भने दिएका थिए । आचार्यले भौतिक संरचनाको निर्माणमा नगरपालिका गम्भीर भएर लागेको बताएका छन् ।
सार्वजनिक सुनुवाईमा अन्तरजातीय विवाहसम्बन्धी एउटा महत्वपूर्ण प्रश्न उठाइयो, जसमा नगर प्रमुख आचार्यले हालसम्म नगरपालिकामा यस्ता विवाहको यकिन तथ्यांक नरहेको बताए । उनले आगामी दिनमा यस्ता तथ्यांक संकलन गरी नीतिगत रूपमा पुरस्कार तथा प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाए । आचार्यले कोहलपुरमा निर्माण भइरहेको भ्यु टावरको व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक तयारी भइरहेको जानकारी दिए ।
बालबालिकालाई मेला महोत्सवमा सहभागि गराउँछ नगरले भन्ने प्रश्नमा आचार्यले भने,–‘हामी कुनै पनि हालतमा बालबालिकाको हक अधिकारको सीमाभन्दा बाहिर जान सक्छौं भन्ने सोच नै छैन । केहीवर्ष अगाडी भएको थियो पछिल्लो समय भएको छैन आगामी दिनमा पनि हुने छैन । नगरपालिकाले बालमैत्री अभ्यासलाई सधैं उच्च प्राथमिकता दिएको छ ।’
कार्यक्रममा नागरिकले विकास निर्माणको गुणस्तर, पारदर्शिता, सामाजिक समावेशीकरण र सेवा प्रवाहमा अझ सुधार आवश्यक भएको सुझाव दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले जनताको चासोलाई गम्भीरताका साथ लिइने र सम्बन्धित निकायमार्फत कार्यान्वयनमा लैजाने बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रम वास नेपालको आयोजनामा, कोहलपुर नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो । स्थानीय तहमा उत्तरदायित्व र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यसहित गरिरहने सुनुवाइले स्थानीय लोकतन्त्रलाई बलियो बनाउने एक राम्रो अभ्यासको संकेत दिएको छ । नगरपालिकाले आगामी दिनमा यस्ता सुनुवाइहरूलाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।