कोहलपुर, जेठ ५,
लुम्बिनी प्रदेशअन्तर्गत बाँके जिल्लाको कोहलपुर नगरपालिकामा अत्याधुनिक सुविधासहितको शवदाह गृह निर्माण सम्पन्न भई परीक्षण गरिएको छ ।
लामो समयदेखि कोहलपुरवासीको माग रहँदै आएको शवदाह गृह अब पूर्ण रूपमा सञ्चालनमा आउन लागेको हो । कोहलपुर नगरपालिका लुम्बिनी प्रदेशका ३२ नगरपालिकामध्ये एक हो, जुन बाँकेको एकमात्र नगरपालिका हो । नेपालगन्जदेखि १६ किलोमिटर उत्तरमा अवस्थित कोहलपुर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको ट्रान्जिट प्वाइन्टका रूपमा समेत परिचित छ । यहाँको प्रमुख समस्यामध्ये एक थियो । शवदाह स्थलको अभाव । विगतमा शवदाहका लागि नगरवासीलाई ४२ किलोमिटर टाढा राप्ती सोनारीस्थित अगैया जानुपर्ने बाध्यता थियो ।
नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को नीतिमा शवदाह गृह निर्माणलाई प्राथमिकता दिंदै प्रारम्भिक रूपमा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा कार्यपालिका बैठक बसेर वडाध्यक्षहरू तथा इन्जिनियरको सहभागितामा ‘शवदाह गृह पहिचान समिति’ गठन गरियो । समितिले सात स्थानको अध्ययन गरी कोहलपुर–११ स्थित डुडुवा–रोहिणी खोलाको क्षेत्रलाई उपयुक्त स्थानको रूपमा सिफारिस ग¥यो ।
उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा व्यवसायी चक्र अधिकारीको संयोजकत्वमा ९ सदस्यीय आर्थिक संकलन तथा निर्माण उपभोक्ता समिति गठन गरि असोज १९ गते नगर प्रमुख आचार्यले धार्मिक विधिअनुसार शिलान्यास गरेपछि निर्माण कार्य तीव्र गतिमा अघि बढेको थियो । सात महिना १६ दिनको मेहनतपछि शवदाह गृहको सफल परीक्षण सम्पन्न भएको छ । आइतबार सम्पन्न परीक्षण कार्यक्रममा नगर प्रतिनिधि, उद्योगी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो । उपप्रमुख संगीता सुवेदीले यो सम्पूर्ण कोहलपुरवासीका लागि गर्वको क्षण भएको बताइन् ।
संयोजक चक्र अधिकारीका अनुसार, मेसिनको परीक्षण सफल भएको छ र केही समयमै उपभोक्ता समितिबाट नगरपालिका हस्तान्तरण गरिनेछ । नगरपालिकालाई शव वाहनको व्यवस्था तथा सञ्चालन कार्यविधि निर्माणका लागि सुझाव दिइसकिएको छ । निर्माण समितिका सचिव तुल्सीप्रसाद आचार्यका अनुसार हालसम्म कुल ८७ लाख रुपैयाँ संकलन भई ६७ लाख रुपैयाँ खर्च भइसकेको छ । एभरेष्ट बैंकले ५० लाख, ग्लोबल आइएमई बैंकले २० लाख सहयोग गरेका छन् भने दुगड समूहले प्रतिक्षालय निर्माण गरिदिएको छ । बाँकी रकम अन्य संघसंस्था र व्यक्तिको सहयोगबाट संकलन गरिएको हो ।
हाल दुई वटा प्रतिक्षालय, तीन शौचालय, तीन स्नान गृह, सिँढी, धारा आदि संरचना निर्माण भइसकेका छन् । अब शवदाह स्थलसम्मको बाटो पीच गर्ने, महादेवको आकृति र ढुंगेधारा निर्माण कार्य बाँकी रहेको सचिव आचार्यले जानकारी दिए । शवदाह गृहमा युरो टेक नेपालका पशुपति आचार्यको समूहले मुख्य मेसिन जडान गरेको हो । परम्परागत दाउराबाट शवदाह हुने यस मेसिन एक घण्टामा शवदाह गर्न सक्षम छ र पूर्णतः प्रदूषणरहित छ । ५ सय मिटर पर किरियापुत्री भवनसमेत निर्माण गरिएको छ ।
नगर प्रमुख पूर्णप्रसाद आचार्यले शवदाह गृह कोहलपुरवासीको दीर्घकालीन सपना रहेको बताउँदै निर्माण कार्य समयमा सम्पन्न भएकामा खुसी व्यक्त गरे । करिब १ करोड २५ लाख रुपैयाँ अनुमानित लागतमा निर्माण भएको शवदाह गृहले अब कोहलपुर मात्र होइन, राप्ती सोनारी, बैजनाथ, जानकी र नेपालगन्ज क्षेत्रका नागरिकलाई समेत सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । जनसहयोगमा सम्पन्न भएको यस कार्यले कोहलपुरलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने विश्वास लिइएको छ ।