कोहलपुरमा विट पत्रकारिता र आचारसंहिता सम्बन्धी तीन दिने तालिम सुरु

कोहलपुर, जेठ ५,

पत्रकारहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा “विट पत्रकारिता तथा पत्रकार आचारसंहिता” विषयक तीन दिने तालिम आइतबारदेखि कोहलपुरमा सुरु भएको छ ।

तालिमको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख आचार्यले पत्रकार महासंघसँगको संस्थागत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले कोहलपुर नगरपालिकाभित्र सञ्चार क्षेत्रको समुचित विकासका लागि संचार नीतिको मस्यौदा अन्तिम चरणमा रहेको जानकारी पनि दिए । तालिम उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पछिल्लो समय विट पत्रकारिताप्रतिको रुचि बढ्दो रहेको उल्लेख गर्दै यसले पत्रकारको पेशागत दक्षता विकासमा ठूलो भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। साथै, उहाँले सबै सञ्चारकर्मीलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे ।

महासंघ बाँके अध्यक्ष नवीन गिरीले पत्रकारितामा अनुशासनको महत्त्वमा जोड दिँदै भने, कहिलेकाहीं पत्रकारहरूले पेशागत सीमारेखा नाघ्दा समस्याहरू देखिने गरेका छन् । यस्ता तालिमहरूले व्यावसायिक अभ्यासलाई थप सुदृढ बनाउँ विश्वास व्यक्त गरे । तालिमको पहिलो दिन विभिन्न विषयमा अनुभवी पत्रकार तथा प्रशिक्षकहरूले सहजीकरण गरेका थिए । लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईंले ’पत्रकार आचारसंहिता’ विषयमा सहजीकरण गरे । कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले ’खेलकुद विट पत्रकारिता’ र कान्तिपुर दैनिककी पत्रकार रुपा गहतराजले ’मिडियामा महिला मुद्दा’ विषयमा प्रशिक्षण दिइन् ।

तीन दिनसम्म सञ्चालन हुने तालिमले कोहलपुरका पत्रकारहरूको व्यावसायिक क्षमता तथा नैतिक मूल्य–मान्यताको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उद्घाटन कार्यक्रममा महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीले स्वागत मन्तव्य राखेका थिए । भने सहसचिव भगतराम थारुले कार्यक्रम सञ्चालन गरेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !