कोहलपुरमा रात्रीकालीन क्रिकेट प्रतियोगिता हुँदै, खेलकुद र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको दावी

कोहलपुर, जेठ ६,

कोहलपुर नगरपालिकाको कार्यालय र कोहलपुर नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा कोहलपुरमा भव्य रात्रीकालीन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

खेलकुद र पर्यटन प्रवर्द्धनसहित नगरलाई पश्चिम नेपालको नमुना नगरपालिका बनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता कोहलपुर खुला मञ्चमा सञ्चालन हुनेछ । खेलहरू जेठ ९  गतेदेखि २० गतेसम्म प्रत्येक दिन बेलुकी ८ बजेदेखि राति १२ बजेसम्म खेलाइनेछन् । १२-१२ ओभरको खेल हुने यस प्रतियोगितामा दैनिक तीनवटा खेल सञ्चालन गरिनेछ। प्रत्येक टिममा १४ जना खेलाडी रहने व्यवस्था गरिएको छ भने टिम दर्ता शुल्क  ८ हजार रुपैयाँ निर्धारण गरिएको छ। प्रतियोगिता खुला प्रकारको भएकाले सबै उमेर समूहका खेलाडीहरूले सहभागी हुने अवसर पाउनेछन् ।

विजेता टिमलाई एक लाख पचास हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ। उपविजेताले ५५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ। प्लेयर अफ द टूर्नामेन्टले बीबी साइकलसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उत्कृष्ट ब्याटर, बलर र फिल्डरलाई पनि ट्रफी र मेडल प्रदान गरिनेछ। प्रत्येक खेलमा KIEC Player of the Match पुरस्कार वितरण गरिनेछ।

खेलहरू आईसीसीका नियमअनुसार (LBW रिभ्यूबाहेक) सञ्चालन गरिनेछन्। निर्धारित समयमा उपस्थिति नजनाउने टिमलाई ३० मिनेटपछि आयोजकको निर्णयअनुसार खेलबाट बाहिर गरिने व्यवस्था गरिएको छ। अम्पायरको निर्णय अन्तिम मानिने छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिनेछन्।

प्रतियोगिताको ब्रान्ड एम्बेसडरका रूपमा पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ममता थापालाई नियुक्त गरिएको छ। समाजमा खेलकुदमार्फत सद्भाव, मित्रता, सुशासन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिँदै गरेको यो प्रतियोगिता कोहलपुर नगरको विकास र पहिचानका लागि एक महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

कार्यक्रमको अध्यक्षता कोहलपुर नगर खेलकुद विकास समिति संयोजक चक्र चिमाला क्षेत्रीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष विरेन्द्र शाह रहेका थिए । प्रमुख अतिथि शाहले प्रतियोगिता आयोजनाले खेलकुदको विकास मात्र होइन, युवाहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले कोहलपुरलाई खेलकुदमैत्री नगरपालिका बनाउने लक्ष्य रहेकोले यस्तो आयोजनाले थप ऊर्जा दिने बताए ।

अध्यक्ष चक्र चिमाला क्षेत्रीले सहभागी सबै टिम र खेलाडीप्रति शुभकामना व्यक्त गर्दै कोहलपुरको खेलकुद क्षमताको विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता रहेको उल्लेख गरे । उनले प्रतियोगिता खेलमार्फत एकता, सद्भाव र नगरको पहिचान विस्तार गर्ने प्रयास भएको बताए । मंगलबार भएको पत्रकार सम्मेलनमा बिनायक गिरीले प्रतियोगिताको पूर्वतयारी र व्यवस्थापन पक्षबारे जानकारी दिँदै सहभागी टिमहरूलाई आवश्यक समन्वय मिलाउने काम भैरहेको बताए । खेल सुरु हुनुअघि नै सबै टिम र खेलाडीहरूको विवरण संकलन, दर्ता प्रक्रिया, खेल तालिका तथा मैदान व्यवस्थापनलगायत तयारी भैरहेको बताए । । खेलाडीहरूको सुविधा र समय व्यवस्थापनमा कुनै कमी हुन नदिन पूर्ण रूपले तयार रहेको बताए । उनका अनुसार हालसम्म २० वटा टिम दर्ता भैसकेको र ३२ टिमको सहभागिता रहने छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !