कोहलपुर, जेठ १४,
बास नेपाल (द्यब्क् ल्भउब)ि को आयोजनामा कोहलपुरमा प्लास्टिकजन्य फोहोरमैलाका असरहरूबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी प्रमुख अतिथि रहेका कार्यक्रम बास नेपालका अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि, नागरिक समाज, तथा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो । सहभागीहरूले आ–आफ्नो क्षेत्रको अनुभव र सुझाव प्रस्तुत गर्दै प्लास्टिकजन्य फोहोरको असर र समाधानका उपायहरूबारे धारणा राखे ।
नागरिक समाजका प्रतिनिधि शंकर न्यौपानेले जनस्वास्थ्यमा प्लास्टिकजन्य फोहोरले पार्ने नकारात्मक प्रभावबारे चिन्ता व्यक्त गर्दै जनचेतनामूलक अभियानलाई टोलस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिए । स्थानीय सरकार कतैकतै कमजोर देखिएको उल्लेख गर्दै टोल विकास समितिलाई जिम्मेवारीसहित सक्रिय बनाउनुपर्ने धारणा व्यक्त गरे । कोहलपुर युवा सञ्जालकी उर्मिला खड्काले विद्यालय शिक्षामार्फत प्लास्टिक न्यूनीकरणको सन्देश पु¥याउनुपर्ने आवश्यकता औंल्याइन् । उनले स्थानीय पाठ्यक्रममा प्लास्टिक व्यवस्थापनसम्बन्धी सामग्री समावेश गर्नुपर्ने माग राखिन् ।
नगर प्रहरी प्रमुख विर बहादुर थापाले दैनिक रूपमा संकलन हुने १२-१३ टन फोहोरमध्ये करिब ७० प्रतिशत प्लास्टिकजन्य हुने जानकारी गराउँदै, घरमै फोहोर वर्गीकरण गर्न सके व्यवस्थापन सजिलो हुने बताए । नगर प्रहरीले सीसीटिभीमार्फत निगरानीलाई तीव्र पारेको पनि उनले जानकारी दिए । वडा नं. ११ की अध्यक्ष कल्पना अधिकारीले कृषि हाट बजारहरूबाट प्लास्टिक न्यूनीकरणको अभियान सुरु गर्नुपर्ने बताइन् । कपडाको झोलाको प्रयोगलाई प्रोत्साहन गर्न हाटबजार समितिसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रमुख अतिथि मान बहादुर गिरीले कोहलपुरलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यसहित घरघरमै फोहोरको वर्गीकरण अनिवार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै फोहोर व्यवस्थापनसम्बन्धी शिक्षा स्थानीय पाठ्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाए । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्लास्टिकजन्य फोहोरको असरबारे प्रस्तुति दिँदै सहभागीहरूलाई समस्याका आयाम र समाधानका सम्भावनाबारे जानकारी गराएका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले प्लास्टिकजन्य फोहोरमैलाको न्यूनीकरण तथा व्यवस्थापनका लागि समन्वयात्मक र साझा प्रयास आवश्यक रहेको निष्कर्ष निकाल्दै सातबुँदे प्रतिबद्धता पत्र जारी गरेका थिए ।
जारी प्रतिबद्धता पत्रको मुख्य बुँदाहरूः
१. फोहरमैला व्यवस्थापन कार्यविधिमा सरोकारवालाहरूको सुझाव समेटी चालु आर्थिक वर्षभित्र औपचारिक कार्यविधि निर्माण गर्ने ।
२. प्रत्येक वडा तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्न पहल गर्ने ।
३. व्यक्तिगत तथा संस्थागत तहबाट प्लास्टिकजन्य फोहोर नियन्त्रणका लागि सक्रिय पहल गर्ने ।
४. प्लास्टिक झोलाको विकल्पमा बैकल्पिक सामग्रीको प्रवद्र्धन गर्दै नियमित रूपमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने ।
५. विषयविज्ञहरूको सहभागितामा नगरस्तरीय विशेष तालिम र छलफल कार्यक्रम आयोजना गर्ने ।
६. नगरभित्र प्लास्टिकजन्य फोहोर न्यूनीकरणमा सक्रिय संघसंस्थाबीच सहकार्य र समन्वयलाई सुदृढ बनाउने ।
७. स्थानीय पाठ्यक्रममा प्लास्टिकजन्य फोहोर व्यवस्थापनसम्बन्धी शिक्षा समावेश गराउन पहल गर्ने ।
तस्बिर : निरज निश्चल