कोहलपुर नगरपालिकाको बजेट सुझाव कार्यक्रम सम्पन्न, नगरप्रमुख आचार्यको जनमुखी नीति निर्माणमा जोड

कोहलपुर, जेठ १६,

कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न सुझाव संकलनका लागि आयोजना गरिएको सार्वजनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगर कार्यपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगरवासी, सरोकारवाला निकाय, संघसंस्था, पत्रकार तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा नगरप्रमुख पूर्ण प्रसाद आचार्यले नीति तथा बजेट निर्माणमा जनताको राय र सुझावको महत्वपूर्ण भूमिका रहने बताउँदै सबैको सल्लाह र प्राथमिकतालाई समेटेर जनमुखी र व्यवहारिक बजेट बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले कोहलपुरलाई अझ समुन्नत र समावेशी बनाउन सबैको सुझाव मार्गदर्शन हुने बताए । कार्यक्रममा सहभागिहरूले विभिन्न क्षेत्रका प्राथमिकताहरूबारे सुझाव दिएका थिए । शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी, स्वरोजगार सिर्जना, सहरी व्यवस्थापन, वातावरणीय सरसफाइ, महिला तथा युवा लक्षित कार्यक्रमहरूमा बजेट केन्द्रित गर्नुपर्ने आवाज उठेको थियो । नगरपालिकाले आगामी नीति तथा कार्यक्रमलाई सहभागी प्रक्रिया मार्फत तयार पार्ने र त्यसलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेको जनाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !