कोहलपुर, जेठ २८,
हरिया मैदान, शान्त वन, चिरबिराउने चरा, चित्तलको झुण्ड हात्ति तथा पाटेबाघ, यी सबै कुनै कल्पनाको कथा होइन, यथार्थ हो, बाँके राष्ट्रिय निकुञ्जको । नेपालको पश्चिमी भूभागमा फैलिएको यो निकुञ्ज वि.सं. २०६७ साल असार २८ गते स्थापना गरिएको हो । सन् २०१० मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको मान्यता पाएको बाँके राष्ट्रिय निकुञ्ज पाटेबाघको सुरक्षित वासस्थान मात्र नभई जैविक विविधता र पर्यटकीय सम्भावनाको केन्द्रका रूपमा स्थापित भइसकेको छ ।
५५० वर्ग किलोमिटरमा फैलिएको बाँके निकुञ्ज बाँके, दाङ र सल्यान जिल्लाको भूभागमा फैलिएको छ । पूर्वमा शिवखोला, पश्चिममा कोहलपुर–सुर्खेत राजमार्ग, उत्तरमा चुरे पर्वत, र दक्षिणमा पूर्व–पश्चिम राजमार्गले यसलाई घेरेको छ । निकुञ्जमा आठ वटा फरक इकोसिस्टम छन्, जसमा चुरे पहाड, तराईका हरियाली मैदान, साना खोला–नाला, र वनस्पतिका विविध स्वरूप समेटिएका छन् । यहाँ १२४ प्रजातिका वनस्पति, ३२ प्रजातिका स्तनधारी जनावरहरू, ३०० भन्दा बढी चरा, ५८ माछा, २२ सरीसृप र ६ उभयचर प्रजातिहरू पाइन्छन् । तीमध्ये ११ स्तनधारी र ५० चरा प्रजातिलाई अन्तर्राष्ट्रियस्तरमै संकटापन्न वा दुर्लभ सूचीकृत गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज मुख्यतः पाटेबाघको सुरक्षित वासस्थानका रूपमा चिनिन्छ । हालसम्म २५ भन्दा बढी पाटेबाघ फेला परिसकेका छन् । बाघ बाहेक चित्तल, भालु, साँठर, मृग, एशियाली हात्ती, चित्तल, चौका, बदेँल लगायत अन्य वन्यजन्तुहरूको पनि स्थायी वासस्थान यही हो । पश्चिमतर्फको बर्दिया राष्ट्रिय निकुञ्जसँग प्रत्यक्ष जोडिएको कारण बाँके जैविक मार्गको रूपमा पनि महत्वपूर्ण छ । विशेषतः बाघजस्ता प्रजातिका दीर्घकालीन संरक्षणमा यसले भूमिका खेलेको छ । निकुञ्जमा हालसम्म ८२ वटा पानी पोखरी निर्माण गरिएका छन्, जसले वन्यजन्तुलाई जलीय जीवन चक्रमा सघाउँछन् । तीमध्ये १६ पोखरी अझै सञ्चालनमा छन् बाँकी पोखरी संंचालनमा ल्याउने तयारीमा छन् । अवलोकनका लागि निकुञ्जभित्र १२ वटा मचान छन्, जहाँ उभिएर पर्यटकले बाघको चाल, चित्तलको दौड, र चराहरूको गतिविधि नजिकबाट अवलोकन गर्न सक्छन् ।
निकुञ्जसँगै रहेको ३४३ वर्ग किलोमिटर क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको छ । यहाँ बाँकेका ७, दाङका ३ र सल्यानका ३ वटा स्थानीय क्षेत्रहरू पर्दछन् । स्थानीय समुदाय संरक्षणका साझेदार हुन् । पर्यटकीय सम्भावनाको दृष्टिले बाँके निकुञ्ज नयाँ गन्तव्यका रूपमा अगाडि बढिरहेको छ । यहाँ वन्यजन्तु सफारी, बर्ड वाचिङ, शैक्षिक भ्रमण, ट्रेकिङ, जंगल क्याम्पिङ र स्थानीय संस्कृति अनुभव गर्न सकिन्छ । आन्तरिक पर्यटक, जैविक अनुसन्धानकर्ता, तथा प्रकृति प्रेमीका लागि बाँके एक महत्वपूर्ण केन्द्र बन्दै गएको छ । सरकार, स्थानीय निकाय र संरक्षण अभियन्ताहरूको सहकार्यमा सञ्चालित बाँके राष्ट्रिय निकुञ्ज आज दिगो संरक्षण र उत्तरदायी पर्यटनको उदाहरणका रूपमा अगाडि बढिरहेको छ ।
निकुञ्ज भ्रमण बिहान तथा साँझको समयलाई उत्तम मानिन्छ । जब घाम अस्ताउँदै जान्छ साँझको सुनौलो प्रकाशले हरियो पातहरूलाई सुनगाभे रङले चम्काइदिन्छ । सडकले जति जंगललाई काखेमालो गर्छ, त्यति नै जंगलले आफ्नो बिस्तार र जीवन्तता देखाउँछ । साँझको सफारीले अँध्यारोलाई आलोकित गर्दै जान्छ उतिनै बाँकेको चुरे पर्वतबाट उठेको चिसो हावाको झोंकाले निकुञ्जलाई नुहाइदिन्छ । वनभित्रको हल्का अन्धकारले वातावरणलाई अझ रहस्यमय बनाउँदै लान्छ । जंगलको आवाजहरू, पातको हल्ला, र पशुपंक्षीको न्यानो संवेदनाले प्रकृतिसँग जोडिदिन्छ । साँझको निकुञ्ज यात्रा केवल दृश्य नभई, अनुभूति हो । जहाँ प्रकृतिको शान्ति र जङ्गली जीवनको जीवंतता एकअर्कामा मिसिदिन्छ । प्राकृतिक सौन्दर्य र वन्य जीवनको आनन्द बाँके राष्ट्रिय निकुञ्जको पहिचान हो । संवेदनशीलता, संरक्षण र सम्भावनाको हरियाली संगम, बाँकेको जंगल जोगायौं भने, केवल वन होइन, भविष्य जोगाउनेछौं ।

