कैलाली,
कोहलपुर, असार ८,
१६ दिने सुत्केरी तुलसी नाथको हत्याको सफल अनुसन्धान गर्ने प्रहरी टोलीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पुरस्कृत गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रण बहादुर चन्दको नेतृत्वमा खटिएको ९ जनाको प्रहरी टोलीलाई पुरस्कृत गरिएको हो ।
कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा असार ६ गते बिहान १९ वर्षीया सुत्केरी तुलसी नाथ मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानपछि यो घटना हत्या भएको पुष्टि भएको थियो । प्रहरीले अनुसन्धानलाई तीव्रता दिँदै छोटो समयमा नै घटनामा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गर्न सफल भएको हो ।
अनुसन्धानका क्रममा पीडितका देवर नवीन नाथले सुत्केरी भाउजुलाई हत्या गरेको स्वीकारेका छन् । उनले भाउजु सुतिरहेको बेला सिरानीले मुख थिचेर हत्या गरेका थिए । प्रारम्भिक बयान अनुसार हत्या पछाडि सुनको लोभ मुख्य कारण रहेको बताइएको छ ।
घटनाको संवेदनशीलता, छिटो अनुसन्धान र अभियुक्तको तत्काल पहिचान तथा पक्राउमा सक्रिय भूमिका खेलेको भन्दै प्रहरी टोलीलाई विशेष रुपमा पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।