श्री बज्रदल गण र सैनिक अस्पतालद्धारा नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ७११ नागरिक लाभान्वित-फोटो फिचर

कोहलपुर, असार ८,

सीमान्तकृत र स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गर्दै श्री बज्रदल गणको पहलमा बाँकेको नरैनापुर गाउँपालिका २ स्थित लक्ष्मणपुर स्वास्थ्य चौकी परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ ।

शिविर श्री सैनिक अस्पताल नेपालगञ्ज, नरैनापुर गाउँपालिका, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल नेपालगञ्ज, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि., गुल्म अस्पताल नेपालगञ्ज, एचसिआरसि अस्पताल र शाही डेन्टल क्लिनिकको संयुक्त सहभागितामा सञ्चालन गरिएको थियो । सीमावर्ती क्षेत्र र मुस्लिम तथा विपन्न जनजातिहरूको बाहुल्य रहेको सो क्षेत्रमा राज्यको सेवा पहुँच अभाव, स्वास्थ्य सुविधाको न्यूनता र औपचारिक सेवामा पहुँच नपुगेका नागरिकहरूलाई लक्षित गर्दै यो शिविर आयोजना गरिएको हो । शिविरबाट महिला, पुरुष र बालबालिका गरी ७११ जना स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएका सेवाग्राहीहरूमध्ये २५९ जना महिला, २२६ जना पुरुष र २२५ जना बालबालिका रहेको आयोजकहरूले जनाएका छन् । शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीबाट सेवा प्रदान गरिएको थियो । सैनिक अस्पताल नेपालगंजका प्रमुख सेनानी डा. मोहित थापा, गैरसैनिक चिकित्सक  फिजिसियन, बालरोग, छाला तथा यौनरोग, प्रसूति तथा स्त्रीरोग, डेन्टल, नाक, कान, घाँटी तथा अन्य बिभागका गरी ११ जना विशेषज्ञहरू संलग्न थिए । श्री सैनिक अस्पताल नेपालगञ्जबाट ३ जना चिकित्सक-फिजिसियन, नसा तथा हाडजोर्नी, र डेन्टल विशेषज्ञहरूले समेत बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविर सफलतापूर्वक सम्पन्न भएपछि श्री नं. ४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी प्रकाश थापाले शिविर सञ्चालनमा प्रत्यक्ष सहयोग गर्ने विभिन्न अस्पताल तथा संस्थाका विशेषज्ञ चिकित्सकहरूलाई प्रशंसा पत्र प्रदान गर्दै आभार व्यक्त गरेका थिए । नेपाली सेनाको ‘राष्ट्रको सुरक्षासँगै सेवामा’ भन्ने भावनालाई आत्मसात् गर्दै सञ्चालन गरिएको यो स्वास्थ्य शिविरले सीमावर्ती ग्रामीण क्षेत्रमा नेपाली सेनाप्रति विश्वास, सम्मान र सकारात्मक भावनाको विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको बज्रदल गण प्रमुख सेनानी रविन श्रेष्ठले बताए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !