कोहलपुर, असार १४,
कोहलपुर नगरपालिकाको आर्थिक सहयोग, कोहलपुर साना किसान सहकारी संघको समन्वय तथा गोरखा ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित एक महिने फेसन डिजाइन तालिम तथा फेशन शो एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता गोरखा ट्रेनिङ सेन्टरका अध्यक्ष मधु खड्काले गर्नुभएको थियो भने कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदी प्रमुख अतिथि रहेकी थिईन् । प्रमुख अतिथि सुवेदीले तालिममा सहभागी महिलाहरूलाई बधाई दिँदै सीपमूलक तालिमहरू महिलाको आर्थिक सशक्तिकरणको आधार हुने बताईन् । उनले भनिन,–‘सीप सिकेर आत्मनिर्भर बन्ने यो अभियान अत्यन्तै सराहनीय छ । नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर सहयोग गर्दै जानेछ ।’
उनले सहभागीहरूको आत्मविश्वास र प्रस्तुत फेशन शोको स्तरीयतामा खुसी व्यक्त गर्दै भनिन्,–‘यहाँ सिकिएको सीप तपाईंहरूको भविष्य निर्माणको खुड्किलो बन्न सक्छ । यसलाई व्यवसायिक रूपमा अगाडि बढाउनुहोस्, नगरपालिकाको साथ रहनेछ ।’
कार्यक्रमका अध्यक्ष मधु खड्काले तालिममार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको स्पष्ट पारिन् । उनले भनिन्,–‘यो तालिम केवल कपडा सिलाउने अभ्यास मात्रै होइन, यो महिलाहरूको जीवनशैली र सोचमा रूपान्तरण ल्याउने अभियान हो । हामी सहभागीहरूको भविष्यप्रति आशावादी छौँ ।’ तालिममा सहभागीहरूले तालिम अवधिभर तयार गरेका विभिन्न फेसन डिजाइन पोशाकहरूको प्रदर्शनी सहितको फेशन शो प्रस्तुत गरेका थिए । जसले उपस्थित पाहुनाहरूको ध्यान आकर्षित गरेको थियो । सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम समापन गरिएको थियो ।



