प्रविधिको पाइला गाउँमै : बैजनाथमा कृषि यान्त्रिकीकरणले बदलिए कृषकको जीवन

कोहलपुर, असार १६,

एक समय प्रहरी सेवामा रहेका कृष्णमोहन थारु अहिले खेतीमै रमाइरहेका छन् । नेपाल प्रहरीबाट अवकाशपछि आफ्नै गाउँ फर्किएका उनी बैजनाथ गाउँपालिका ८ मा “के.एम. कृषि फर्म” सञ्चालन गर्दै आएका छन् । साता वर्षदेखि व्यावसायिक खेतीमा रमाएका थारुले हालै गाउँपालिकाबाट पाएका पावर टिलरलाई “खेतीमा गतिको साधन” मानेका छन् । निजी खर्चमा किनेको मिनी टिलरबाट सुरु भएको यात्रा अहिले गाउँपालिकाको सहयोगमा अझ सशक्त बनेको छ।

चालु आर्थिक वर्षमा बैजनाथ गाउँपालिकाले ‘पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषकहरूलाई आधुनिक यान्त्रिक उपकरणहरू अनुदानमा वितरण गर्दै आएको छ। पावर टिलर, मिनी टिलर, च्याप कटर, ई-लोडर अटो लगायतका उपकरण ७० प्रतिशत अनुदानमा उपलब्ध गराइएका छन्। यसबाट बैजनाथ–२ का भरत न्यौपाने, वडा ७ का गणेश थारुजस्ता किसानहरूलाई श्रम र समय दुबैमा ठूलो राहत मिलेको छ। गणेश थारु भन्छन्,-“पहिला हलो जोतेर एक बिघा जोत्न दिनभर लाग्थ्यो, अब आधा समयमै दुई बिघा जोत्न सकिन्छ।”

गाउँपालिकाले हालसम्म १०२ वटा मिनी टिलर र २१ वटा पावर टिलर वितरण गरिसकेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही भन्छन्,-“निर्वाचनको बेलामा गरेका प्रतिवद्धताहरूलाई कार्यान्वयनको चरणमा ल्याउँदैछौं।” कृषकहरूको माग, सुझाव र अनुभवका आधारमा योजना निर्माण गरिएको उनको भनाइ छ। कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माका अनुसार पालिकाले यान्त्रिकीकरणसँगै सिँचाइ, ढुवानी, भण्डारण र बीउ व्यवस्थापनजस्ता पक्षमा पनि ध्यान दिइरहेको छ। ७० प्रतिशत अनुदानमा उपकरण वितरण, ५० प्रतिशत अनुदानमा भण्डारण गोदाम निर्माण, ११ जना कृषकलाई ई-लोडर, र आकस्मिक सेवा स्वरूप ‘कृषि एम्बुलेन्स’समेत सञ्चालनमा ल्याइएको छ।

पहिला सहरका लागि मात्र सम्भव ठानिएका उपकरणहरू अब गाउँका खेतसम्म पुगेका छन्। समय, श्रम र लागतमा बचत भएपछि उत्पादनमा पनि स्थायित्व र सुनिश्चितता देखिन थालेको छ। कृषि यान्त्रिकीकरणले बैजनाथ गाउँपालिकाका कृषकहरूको मात्र होइन, गाउँको सोच र सम्भावनालाई पनि जोत्न थालेको छ, यही हो प्रविधिको साँचो पाइला।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !