१ करोड लागतको डिप ट्युबवेल सञ्चालनमा-भरतपुर–२५ का सयौं किसान लाभान्वित

मनोज भुजेल, कोहलपुर, असार ३२,

भरतपुर महानगरपालिका-२५ स्थित जनज्योति टोल विकास संस्था परिसरमा निर्माण गरिएको डिप ट्युबवेल योजना सञ्चालनमा आएको छ।

करिब १ करोड रुपैयाँ लागतमा सम्पन्न यस योजनाले स्थानीय किसानहरूलाई स्थायी सिँचाइको सुविधा प्रदान गर्ने विश्वास गरिएको छ। जनज्योति डिप ट्युबवेल उपभोक्ता समितिमार्फत सञ्चालित उक्त योजना चितवन भूमिगत जल संयोजनात्मक सिँचाइ परियोजना तथा भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा सम्पन्न भएको हो। म्याक्स टोल क्षेत्रमा ११० मिटर गहिराइसम्म बोरिङ गरी ट्युबवेल जडान गरिएको छ।

बोरिङका लागि आवश्यक जग्गा स्थानीय बासिन्दा राधिका पौडेलले निशुल्क उपलब्ध गराएकी हुन्। योजनाको सञ्चालन तथा व्यवस्थापनको नेतृत्व अध्यक्ष ढक बहादुर पौडेल र सचिव शुक्र बहादुर पौडेलले गरेका छन्। साथै, व्यवस्थापनका लागि एक स्थानीय कर्मचारी खटाइएको छ। ट्युबवेल सञ्चालनमा आएपछि किसानहरू अत्यन्त उत्साहित देखिएका छन्। उक्त ट्युबवेलबाट भरतपुर-२५ का सयौं किसानहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। सिँचाइको सुविधा सहज भएपछि कृषकहरूले अब वर्षमा तीनदेखि चार सिजनसम्म तरकारी खेती गर्ने, असारमै धान रोपाइ सम्पन्न गर्ने र उत्पादनमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।

करिब तीन दशकअघि कोदो, तील र तोरीको खेती हुने यो भू-भागमा अब आधुनिक सिँचाइ प्रणालीमार्फत उच्च मूल्यका बाली तथा व्यावसायिक तरकारी उत्पादनको सम्भावना अझ बढेको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर