कोहलपुर माविमा नेतृत्व विकास तालिम सुरु

कोहलपुर, बाँके,

कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर माध्यमिक विद्यालयमा सात दिने नेतृत्व विकास तालिम सुरु भएको छ।

समाज सेवा संस्था नेपालको आयोजनामा र विद्यालयकै आर्थिक सहयोगमा आइतबारदेखि तालिम सुरु गरिएको हो। तालिम उद्घाटन कार्यक्रममा कोहलपुर वडा नं. ११ की वडा अध्यक्ष कल्पना शर्मा (अधिकारी) प्रमुख अतिथि थिइन् भने समाज सेवा संस्थाका गुरु प्रसाद गडहरीया सभापति थिए। वडा अध्यक्ष शर्माले पछिल्लो समय युवाहरू व्यवहारिक भन्दा पनि अव्यवहारिक कार्यप्रति आकर्षित हुन थालेको जनाउँदै, अनुशासन र नैतिक शिक्षा आवश्यक भएको बताइन्। उनले नैतिक शिक्षालाई प्रोत्साहन गर्न वडाबाट बजेटसमेत विनियोजन गरिएको जानकारी दिइन्।

तालिममा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको छ। समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापा प्रमुख प्रशिक्षकका रूपमा तालिम सञ्चालन गरिरहेका छन्। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंख प्रसाद न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झगु गिरी र सार्वजनिक शैक्षिक गुठी सञ्चालक समिति अध्यक्ष नारायण प्रसाद लम्सालले पनि आ–आफ्ना भनाइ राख्दै विद्यार्थीहरूलाई आत्मविश्वासी र जिम्मेवार बनाउने खालका तालिमहरूको आवश्यकतामा जोड दिएका थिए। तालिम २०८२ साउन १२ गतेसम्म सञ्चालन हुने जनाएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !