कोहलपुर, भदौ २९,
कोहलपुर नगरपालिका वडा नं. ९ को वडा कार्यालय पनि हालैको जेन्जी आन्दोलनका क्रममा जलाईएपछि पूर्ण रूपमा क्षति पुगेको छ ।
कार्यालय ध्वस्त भएपछि वडा वासिन्दाले प्रशासनिक कामकाजमा ठूलो समस्या भोगिरहेका छन् । वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले कार्यालय पुनर्निर्माणका लागि नगरवासी, संघ–संस्था र दातृ निकायलाई सहयोगको लागि अपिल गरेका छन् । उनले जनताको आधारभूत सेवामा अवरोध नआओस् भनेर छिटो पुनर्निर्माण कार्य अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
वडा नं. ९ कार्यालयले जनतालाई केही सेवा अस्थायी रूपमा उपलब्ध गराइरहेको भए पनि भवन, सामग्री र पूर्वाधार निर्माण नभएसम्म पूर्णरूपमा सेवा सञ्चालन गर्न कठिनाइ हुने छ । वडा अध्यक्ष योगीले वडा कार्यालयलाई पहिलाकै अवस्थामा ल्याउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले भने,–‘राज्यमा नै ठूलो क्षति भएको हुँदा तत्काल सरकारले नयाँ भवन निर्माण गर्न सक्ने सम्भावना छैन। तर जहाँबाट जे सकिन्छ त्यो सहयोग गर्न सबैलाई अनुरोध गर्दछु ।’
स्थानीय बासिन्दाले केवल तोडफोड मात्र होइन, आफ्नो वडालाई पुनः निर्माण गर्न पनि तत्परता देखाएका छन् । केही युवाहरू गएर वडा कार्यालय परिसर सफा गरेका छन् भने केहीले आवश्यक सामग्री उपलब्ध गराउने र पुनर्निर्माणमा श्रमदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।



