कोहलपुर, भदौ २९,
सामाजिक सञ्जाल बन्द तथा भ्रष्ट्राचारको विरोधमा भइरहेको आन्दोलनमा ड्युटीमा खटिएका पत्रकार निरज सिंह निश्चलले आफ्नो क्यामेरा गुमाउनुका साथै जीवन नै संकटमा पार्ने स्थिति भोग्नु प¥यो । निश्चलले कोहलपुरमा भइरहेको तोडफोड र आगजनीका दृश्य खिचिरहेका बेला आन्दोलनकारीहरूले “फोटो र भिडियो नखिच” भन्दै रोके । उनले पेशागत दायित्व सम्झाउँदै “यो मेरो काम हो, म रिपोर्टिङ गर्न पाउँछु” भनेपछि उनीमाथि भीड नै उग्रिन खोज्यो ।
स्थिति गम्भीर भएपछि नेपाल प्रहरी र नगर प्रहरीले उनलाई सुरक्षार्थ आफ्नो रोहबरमा राखेर नगरपालिकाको भवनभित्र सुरक्षित पारेका थिए । तर केही समयमै भीडले नगरपालिकाको परिसरमै प्रवेश गरी भवनमा आगो लगाइदिए । बाहिरबाट आगोको धुवाँ फैलँदै गर्दा उनले नगर उपप्रमुख संगिता सुवेदीको कार्यकक्षमा लुकेर ज्यान जोगाइरहेका थिए । सो क्रममा पत्रकार विजय परियारले आगो भयानक रूपमा फैलिएको खबर दिएपछि निश्चल छततर्फ पुगे ।
बाहिरको आगो डरलाग्दो रूपमा फैलिरहेको देखेपछि उनले जीवनलाई प्राथमिकता दिँदै छतबाट हाम फालेर ज्यान जोगाए । तर उनको प्रिय क्यामेरा भने नगरपालिकाको भवनसँगै जलेर खरानी भयो। सो क्यामेराको मूल्य करिब ३ लाख ३७ हजार रुपैयाँ रहेको उनले बताए । ‘क्यामेरा बचाउने भन्दा पहिले ज्यान जोगाउनुपर्छ भन्ने लाग्यो’ निश्चलको आवाज भक्कानिएको थियो ।
यो घटना पत्रकारिताको पेशा कति जोखिमपूर्ण र चुनौतीपूर्ण छ भन्ने स्पष्ट प्रमाण बनेको छ । उनीहरू मध्ये केहीले उनको क्यामेरा खोस्ने प्रयाससमेत गरेपनि उनले क्यामेरा जोगाएका थिए । निश्चलले ज्यान जोगाए पनि उनको क्यामेरा र त्यसमा कैद भएका दृश्यहरू आगोले सधैँका लागि लगिदियो । यसपश्चात उनको कार्यालयमासमेत तोडफोड भएको छ । हाल प्रहरीले मुचुल्का उठाईरहेको उनले बताए ।




