टी-२० एशिया छनोटको सुपर-६ मा नेपालको रोमाञ्चक जित, यूएईलाई १ रनले पराजित

कोहलपुर, असोज २६,

नेपालले आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा संयुक्त अरब इमिरेट्स ‘यूएई’ विरुद्ध १ रनको रोमाञ्चक जित निकालेको छ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो। जवाफमा यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाउन सक्यो।
यूएईलाई अन्तिम तीन बलमा तीन रन चाहिएको अवस्थामा नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै तीनै बलमा तीन विकेट लिएर खेल नेपालतर्फ ताने। दीपेन्द्रले चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए, पाँचौँ बलमा हेदर अलीलाई बोल्ड गरे र अन्तिम बलमा जाहिद अली रन आउट भए।

यूएईका आलिशान शरफुले ५८ तथा ध्रुव पराशरले ३२ रनको योगदान दिए। नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट हात पारे भने सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए। नेपालका लागि आसिफ शेखले ४७ बलमा सर्वाधिक ५१ रन बनाए। यूएईका जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हेदर अली, हर्षित कौशिक र ध्रुव पराशरले समान १–१ विकेट लिए।

यो जितसँगै नेपाल सुपर–६ को अंकतालिकामा २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। समान अंक भएको ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ। यूएई २ खेलमा २ अंकसहित तेस्रो स्थानमा रहेको छ। सुपर–६ चरणमा समूह ‘‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ प्रवेश गरेका छन्।

नेपालले अब सुपर–६ मा भोलि ‘आइतबार’ कतारसँग खेल्नेछ। यस्तै, नेपालले बुधबार ओमान र शुक्रबार सामोआसँग खेल्ने तालिका रहेको छ। सुपर–६ मा शीर्ष तीन स्थानमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान बनाउन सक्नेछन्।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !