कोहलपुर, मंसिर १८,
कोहलपुरमा संचालन हुन गईरहेको महोत्सवलाई थप व्यवस्थित, आकर्षक र सफल बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले बताएका छन् ।
बिहीबार स्थानीय सञ्चारकर्मीहरूसँगको छलफलका क्रममा अध्यक्ष भट्टराईले महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न उद्योगी–व्यवसायी, स्थानीय निकाय, नागरिक समाज, सञ्चारकर्मी र आम उपभोक्ता सबैको सहकार्य आवश्यक भएकोमा जोड दिए । छलफलमा बोल्दै अध्यक्ष भट्टराईले महोत्सव कोहलपुरको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचान झल्काउने महत्वपूर्ण अवसर भएकोले यसलाई सफल बनाउन कसैले पनि कसर बाँकी नराख्नुपर्ने बताए । ‘कोहलपुर महोत्सव हामी सबैको साझा अभियान हो । यसको सफलताका लागि सबै सरोकारवालाको सक्रिय सहभागिता अनिवार्य छ,’ उनले थपे ।
संघका महासचिव दिपक बहादुर भण्डारीले महोत्सवलाई स्थानीय उत्पादन, कृषि र पर्यटन प्रवद्र्धनको माध्यम बनाइने र यसबाट स्थानीय अर्थतन्त्रलाई ठोस टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले विगतका अनुभवबाट पाठ सिक्दै यस वर्षको व्यवस्थापन अझ सुदृढ र दर्शकमैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्दै महोत्सव अवधिभर सुरक्षा र सहजतालाई उच्च प्राथमिकतामा राखिने बताए ।
भण्डारीले महोत्सवलाई मनोरञ्जनको केन्द्र मात्र नभई व्यावसायिक अवसर र सूचना आदान–प्रदानको थलो बनाउन खोजिएको पनि बताए । छलफलमा सहभागी सञ्चारकर्मीले महोत्सव सफल बनाउन आवश्यक सुझाव प्रस्तुत गर्दै आ–आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

