कोहलपुर, मंसिर २६,
कथाकार जीत बहादुर शाहाको नविनतम् कृति “धानाकर्षण“ माथि अन्तरक्रिया भएको छ ।

ज्ञान बहुमुखी क्याम्पस कोहलपुरको सभाहलमा साहित्यकार तथा विद्यार्थीहरूका बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले नयाँ सर्जक जन्माउन तथा साहित्यका पाठकहरू बढाउन विद्यालय तथा विश्व विद्यालयहरूमा लेखकसङ्ग अन्तरक्रिया तथा विधागत कृतिहरु माथि समीक्षात्मक कार्यक्रम गर्नु पर्ने बताएका छन् ।
प्राज्ञ ढकालले पछिल्लो समय बाँके बर्दियाका सर्जकहरूलाई उत्प्रेरित गर्ने गरी जीतबहादुर शाह जस्ता अनुभवी लेखकहरू साहित्य सिर्जनामा सक्रिय भएको देख्दा खुुसी लागेको बताए । उनले साहित्य र जीवन एक अर्काका परिपुरक भएको बताउँदै साहित्य सिर्जनाले कल्पनाशीलता बढाउने भएकोले विद्यार्थीहरूका लागि साहित्यिक माहोल झनै आवश्यक रहेको बताए ।
समालोचक डम्बर खत्रीले जीतबहादुर शाहको लघुकथा कृति ‘ध्यानाकर्षण’ को समीक्षा गर्दै यो कृति अनुभवहरूको सङ्गालो भएको बताए । जुन सुकै उमेर समुहका व्यक्तिहरूका लागिसमेत उपयुक्त रहेको यो संग्रहले राजनीतिक, सामाजिक र शेैक्षिक विषयवस्तुलाई बढी जोड दिएको बताए । कृति भित्र रहेका छपन्न ओटा कथाहरूले कुनै न कुनै रूपमा जीवन उपयोगी दर्शन वा सन्देश बोकेको हुनाले ‘ध्यानाकार्षण’ कृतिको महत्व रहेको बताए ।
कृतिकार जीतबहादुर शााहले आफ्नो लेखनको विषयवस्तु समाज र विद्यार्थी भएकोले साहित्यकार तथा विद्यार्थीहरूका बीचमा अन्तरक्रिया गर्न पाउँदा खुुसी लागेको बताए । उनले अध्ययन र अभ्यासले मानिसलाई परिपक्व बनाउने बताउँदै साहित्यमा अध्ययन र अभ्यासको औचित्व औल्याए । उपप्रध्यापक दिनेश अर्यालले सहजिकरण र विमला खत्रीले स्वागत गरेको अन्तरक्रिया कार्यक्रममा जीत बहादुर शााहलाई विद्यार्थी तथा साहित्यकारहरूले ध्यानाकार्षण कृति माथि दर्जन बढी प्रश्नहरू सोधेका थिए ।
कार्यक्रममा साहित्यकारहरू छविलाल खड्का, चन्द्रावती अधिकारी, चन्द्र पंगाली, मणि गैरे, शुभाकर विश्वकर्मा, भिम खरेल, केशव सिग्देल, तिलक के.सी. डोलराज अर्याल लगायत दर्जनौं उपप्रध्याक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।


