कोहलपुर, पुष २,
कृषि, पर्यटन तथा औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर आयोजना हुन लागेको कोहलपुर महोत्सव-२०८२ को तयारी तीव्र पारिएको छ ।
“दिगो विकासको उत्सव” भन्ने नारासहित सञ्चालन हुने महोत्सवलाई सभ्य, भव्य र सफल बनाउन आयोजक समिति सक्रिय रूपमा जुटेको छ । यसैबीच, महोत्सवलाई बदनियतपूर्ण रूपमा असफल बनाउने उद्देश्यले फैलाइएका केही भ्रम, अफवाह तथा भ्रामक प्रचारप्रति ध्यान नदिन आयोजक समितिले सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ । बुधबार जारी विज्ञप्तिमा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले महोत्सवका सन्दर्भमा फैलाइने अपुष्ट तथा भ्रामक सूचनाप्रति सचेत रहन अनुरोध गरेका छन् ।
आधिकारिक जानकारीका लागि महोत्सव सचिवालयमार्फत सत्य-तथ्यमा आधारित विवरण लिन आग्रह गर्दै विज्ञप्तिमा महोत्सवलाई सफल बनाउन सबैको साथ, सहयोग र सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गरिएको छ । साथै, अपुष्ट तथा गैर-जिम्मेवार सूचनाहरू फैलाएर महोत्सव सञ्चालनमा अवरोध सिर्जना गर्न खोज्ने व्यक्ति वा समूहविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत दिइएको छ ।
कोहलपुरको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वाससहित महोत्सवलाई सफल बनाउन आयोजकले सम्पूर्ण नगरवासी, व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाको सक्रिय सहभागिता र सहयोगको अपिल गरेको छ ।
लुम्बिनी प्रदेशको पश्चिमी भागमा अवस्थित कोहलपुर पछिल्ला वर्षहरूमा उद्योग, पर्यटन, स्वास्थ्य र शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै आएको छ । तीव्र शहरीकरणसँगै विस्तार हुँदै गएको आर्थिक गतिविधिलाई थप मजबुत बनाउने उद्देश्यले वि।सं। २०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको कोहलपुर महोत्सव यस वर्ष पनि यही पौष ९ गतेदेखि १८ गतेसम्म आयोजना हुन लागेको हो ।
महोत्सवमा कृषि, पर्यटन, सूचना प्रविधि, स्थानीय हस्तकला, स्वास्थ्य, शिक्षा तथा कला-संस्कृतिसँग सम्बन्धित उत्पादन र सेवाको प्रदर्शनी रहने आयोजकले जनाएको छ । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, आर्थिक गतिविधिको विस्तार तथा कोहलपुरको पहिचान प्रवद्र्धनमा उल्लेखनीय टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

