कोहलपुर, माघ ६,
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ लुम्बिनी प्रदेशको आयोजनामा प्रादेशिक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ ।

कार्यक्रम महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष किरणकुमार बिकको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगीता सुवेदीले गरेकी थिइन् । उद्घाटन मन्तव्यमा उपप्रमुख सुवेदीले सुनचाँदी तथा आभूषण व्यवसाय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउन यस्ता अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको बताइन् । कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका केन्द्रीय सदस्य देवीलाल बिकले स्वागत मन्तव्य राखेका थिए । साथै महासङ्घले गरेका मुख्य गतिविधि तथा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमको उद्देश्यबारे महासङ्घका कोषाध्यक्ष गणेशप्रसाद बिकले प्रकाश पारेकाथिए ।

कार्यक्रमका विशिष्ट अतिथि महासङ्घका कोषाध्यक्ष गणेशप्रसाद बिक रहेका थिए । अतिथिहरूमा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका खेमप्रसाद उपाध्याय, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन घर्ती मगर, बीबीआरबी एण्ड एसोसिएट्सका लेखा परीक्षक विश्व भण्डारी, मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसाय सङ्घका अध्यक्ष मानबहादुर सुनार, नेपाल सुनचाँदी गहना व्यवसाय सङ्घ बर्दियाका अध्यक्ष विष्णु सुनार, बाँके सुनचाँदी रत्न तथा आभूषण सङ्घ बाँकेका अध्यक्ष शत्रुघन गुप्ता, प्युठान सुनचाँदी व्यवसाय सङ्घका निवर्तमान अध्यक्ष इमानसिंह गहतराज, महासङ्घ लुम्बिनी प्रदेशका कोषाध्यक्ष हर्कबहादुर बिक, मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसाय सङ्घका उपाध्यक्ष गोविन्द बिक, महासचिव देवसर सुनार, प्युठान सुनचाँदी व्यवसाय सङ्घका कोषाध्यक्ष डम्बर सुनार, नेपाल सुनचाँदी गहना व्यवसाय सङ्घ बर्दियाका सचिव पूर्णबहादुर बिक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका खेमप्रसाद उपाध्यायले आर्थिक ऐनमा व्यवस्था भएका विद्यमान कर तथा राजस्व प्रणाली र विलासिता करसम्बन्धी विषयमा स्पष्ट पारे । त्यसैगरी बीबीआरबी एण्ड एसोसिएट्सका लेखा परीक्षक विश्व भण्डारीले लेखा व्यवस्थापन तथा करसम्बन्धी तालिमबारे जानकारी दिए । यसै क्रममा गुणस्तर तथा नापतौल कार्यालयका सहायक प्रमुख गोविन्द अधिकारीले सुनचाँदी तथा आभूषणको गुणस्तर र नापतौलसम्बन्धी जानकारी गराए भने व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी विषयमा पनि अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका सुनचाँदी व्यवसायी, संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले कार्यक्रम उपयोगी र व्यवसायिक ज्ञान अभिवृद्धि गर्ने खालको भएको प्रतिक्रिया दिएका छन् । कार्यक्रमको संचालन किरण कुमार बि.क.ले गरेका थिए ।




