कोहलपुर, फागुन ३०,
बलात्कार पछि हत्या गरिएकी सुर्खेतकी नाबालिका इनिशा बि.क.को न्यायका निम्ती कोहलपुरमा प्रर्दशन गरिएको छ ।

कोहलपुर क्षेत्रका महिला तथा बालबालिका अधिकारकर्मी, यस क्षेत्रमा कार्यरत महिला, पत्रकार महिला तथा छात्रा विद्यार्थीहरुले शनिबार प्रर्दशन गरेका हुन् । देशभर महिलामाथि हुने हिंसाका घटनाहरू निरन्तर बढ्दै जानु, दोषीमाथि प्रभावकारी कारबाही नहुनु तथा पीडितले न्याय नपाउनु गम्भीर चिन्ताको विषय बनेको भन्दै इनिशाको न्यायका निम्ती प्रर्दशन गरेका हुन् । यही अवस्थाप्रति राज्यको ध्यानाकर्षण गराउँदै जिम्मेवारी र जवाफदेहिता सुनिश्चित गर्न दबाब सिर्जना गर्ने उद्देश्यले “महिलामाथि हुने सबै प्रकारका हिंसा विरुद्ध विरोध प्रदर्शन” आयोजना गरिएको छ ।

प्रदर्शनमा सहभागीहरूले “इनीशा वि.क. लाई न्याय देऊ”, “बलात्कारीलाई कडा भन्दा कडा कारबाही गर”, “महिलामाथिको हिंसा अन्त्य गर”, “दण्डहीनताको अन्त्य गर”, “छोरीले पनि सुरक्षित भएर बाँच्न पाउने आधार सुनिश्चित गर” जस्ता नाराहरू लगाउँदै सशक्त आवाज उठाएका थिए । प्रदर्शनकारीहरूले उक्त घटना केवल एक किशोरीमाथि भएको अपराध मात्र नभई समाजमा अझै विद्यमान संरचनात्मक विभेद र दण्डहीनताको परिणाम भएको बताएका छन् ।

उनीहरूले राज्यका सम्बन्धित निकायहरूले घटनाको निष्पक्ष र तीव्र छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । साथै, देशभर बढ्दै गइरहेको महिलामाथिको हिंसा नियन्त्रण गर्न राज्यले दीर्घकालीन र प्रभावकारी कदम चाल्नुपर्नेमा पनि प्रदर्शनकारीहरूले जोड दिएका छन् । प्रदर्शनकारीहरूले न्याय नपाएसम्म आफ्नो आवाज नरोकिने र आन्दोलन निरन्तर जारी रहने चेतावनी दिएका छन् ।


