वन्यजन्तु व्यवस्थापन, उद्धार तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि व्यवहार परिवर्तनसम्बन्धी छलफल तथा अन्तरक्रिया

कोहलपुर

बाँकेको कोहलपुरमा वन्यजन्तु व्यवस्थापन, उद्धार तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि व्यवहार परिवर्तनसम्बन्धी एक दिवसीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सञ्चारिका समूह, कोहलपुरको आयोजना र डिभिजन वन कार्यालय, बाँकेको आर्थिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय बढ्दै गएको मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई कम गर्न र समुदायमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले वन र वन्यजन्तुको संरक्षणसँगै मानव समुदायको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

æहाम्रो वडा र वरपरका क्षेत्रहरू वनसँग जोडिएकाले वन्यजन्तुको जोखिम सधैं रहन्छ उनले भने वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न स्थानीय सरकारले पनि पहल गरिरहेको छ । तर, यसका लागि समुदाय आफैं सचेत हुन र आफ्नो बानीव्यहोरामा परिवर्तन ल्याउन जरुरी रहेको उनको भनाई रहेको थियो । वन कार्यालय र स्थानीय समुदायबीचको समन्वयले मात्रै यो द्वन्द्व कम गर्न सकिने उनले बताए ।

उक्त कार्यक्रमका मुख्य प्रशिक्षकको रूपमा बोल्दै डिभिजन वन कार्यालय कोहलपुरकी प्रमुख बन्दना रानाले प्राविधिक पक्षमाथि प्रकाश पार्दै वन्यजन्तुको प्राकृतिक बासस्थानमा हुने अवरोधका कारण द्वन्द्व बढ्ने गरेको उल्लेख गरेकि थिइन् । उनले वन्यजन्तु गाउँ पसेमा तत्काल अपनाउनुपर्ने सावधानी, उद्धारका प्रक्रिया र सरकारले प्रदान गर्ने राहतका प्रावधानबारे सहभागीहरूलाई विस्तृत जानकारी दिएकी थिइन् ।

कोहलपुर नगरपालिका वडा नं. ९ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा आयोजित उक्त कार्यक्रममा स्थानीय सामुदायिक वनका प्रतिनिधि, संरक्षणकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले वन्यजन्तुका कारण बालीनाली र जीउधनमा हुने क्षतिबारे आफ्ना जिज्ञासा र समस्याहरू राखेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !