कोहलपुर गोल्डकप २०८३ : तयारी हुँदै, ए डिभिजन क्लबदेखि अन्तराष्ट्रिय टिमको सहभागिता हुने

कोहलपुर, चैत्र १३,

पश्चिम नेपालको खेलकुद क्षेत्रमा प्रतिष्ठित पहिचान बनाउँदै आएको कोहलपुर गोल्डकपको चौथो संस्करण आगामी वैशाख १९ गतेदेखि २६ गतेसम्म आयोजना हुने भएको छ ।

बाँकेको कोहलपुर–१३ स्थित तेह विगाह खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । यसपटकको प्रतियोगिताले क्षेत्रीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । आयोजकका अनुसार प्रतियोगितामा ए डिभिजनका ३ क्लब, २ विदेशी टिम, मोफसलका २ क्लब र आयोजक टिम गरी कुल ८ टिम सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद रु. ८ लाख र उपविजेताले रु. ४ लाख पुरस्कार प्राप्त गर्नेछन् । खेलकुदसँगै पर्यटन प्रवद्र्धनलाई जोड्ने उद्देश्यले फाइनल पुग्ने दुई टोलीलाई देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइनेछ । साथै, स्थानीय होमस्टेमा मौलिक खानपान र बसोबासको अनुभव गराइने कार्यक्रम समेत रहेको छ । यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित, आकर्षक र व्यावसायिक बनाउन व्यवस्थापन तथा मार्केटिङको जिम्मेवारी ईश्वरी युनाइटेड प्रा.लि. लाई दिइएको छ ।

आयोजक रेसिङ सहारा क्लबका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष सन्तोष बम मल्लले विगतका तीन संस्करणको सफलतापछि यसपटक खेलकुदलाई पर्यटनसँग जोडेर नयाँ उचाइमा पु¥याउने लक्ष्य रहेको बताए । कोहलपुर नगरपालिकाकी उपमेयर तथा कार्यक्रमकी प्रमुख अतिथि सङ्गीता सुवेदीले यस्तो प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता विकाससँगै क्षेत्रीय पहिचान मजबुत बनाउने बताइन् । उनले भनिन्,–…कोहलपुर गोल्डकपले खेलकुदमार्फत पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्नेछ ।Ú

कोहलपुर गोल्डकपका डाइरेक्टर कर्णबहादुर बस्नेतले प्रतियोगितालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन विशेष तयारी गरिएको जानकारी दिए । क्लबका सचिव नव किरण शाहले खेल तालिका र मुख्य प्रायोजक सम्बन्धी थप विवरण छिट्टै सार्वजनिक गरिने बताए । प्रतियोगिताको बजेट व्यवस्थापन सुदृढ बनाइएको उल्लेख गर्दै सफल आयोजनाका लागि सबै पक्षको साथ आवश्यक रहेको बताए ।

कार्यक्रममा आर्थिक संयोजक चेतकान्त भट्टराई, लुम्बिनी प्रदेश पत्रकार महासङ्घका सदस्य निर्मल आचार्य, ईश्वरी युनाइटेडका प्रेसिडेन्ट सौगात विक्रम शाहले प्रतियोगितालाई व्यावसायिक रूपमा सफल बनाउन आफूहरूको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । आयोजकले प्रतियोगिताको सफलताका लागि सम्पूर्ण सञ्चारकर्मी तथा सरोकारवाला निकायबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !