डा. गैरेको सूतपुत्र माथि विमर्श सम्पन्न

कोहलपुर चैत १५, प्रकृति प्रेमी

डा. शंकरप्रसाद गैरैको उपन्यास ‘सूतपुत्र’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली लेखक संघ, चितवनले आयोजना गरेको ‘पाठकसँग लेखक’  को चौथो श्रृङखलामा यसपटक सूतपुत्रलाई रोजिएको हो । बालकुमारी कलेज, नारायणगढमा भएको कार्यक्रममा प्रमुख वक्ताका रुपमा आचार्य युवराज अधिकारी तथा डा. एकनारायण पौडेलले कृतिमाथि टिप्पणी गरेका थिए । समालोचक आचार्य अधिकारीले सूतपुत्रमा कर्णले आफैँले लेखेको डायरी अनुभुति भएको, सरल , सबैले बुझ्नसक्ने भाषाशैली र तृतीय पुरुषको प्रयोग गरिएको तथापि वर्णविन्यासगत त्रुटी देखिएको , कतिपय ठाउँमा भाषिक अशुद्धता, प्रिन्टमा गल्ती औल्याए । त्यस्तै रमेश प्रभातले उपन्यासको रुपमा सवाल्टन र  समालोचकीय उपन्यास आएको जानकारी गराउँदै आगामी उपन्यासका लागि शुभकामना व्यक्त गरे । डा. केशव  चालिसेले कर्ण सजायको पात्र, उपन्यासमा कथा भित्रको अर्को कथा भेटिएको , उच्च लेखनकौशलको प्रस्तुति, कर्णको जीवनलाई प्रस्तुत, मिथकिय प्रात्रलाई प्रस्तुत गरिएको मेटाफिक्सनको प्रयोग गरिएको उत्कृष्ट उपन्यास भएको धारणा राखे ।

अर्का वक्ता डा. एकनारायण पौडेलले मुल कथा कर्णले भनेका, दलनमा परेका कुरा, दलित भएर युद्धमा भाग लिन नपाएको कुरा, मनोविज्ञानको उत्कृष्ट प्रयोग , स्व: को खोजी गरिएको , प्रेम  सम्बन्ध, मित्रताको कुरा मिहिन तवरले प्रस्तुत गरिएको बताए । कार्यक्रममा उदय अधिकारी , लेखराम सापकोटा , प्रा.डा. बानियाँ, विद्या भण्डारी चिराग, वसन्त पराजुली , सुर्यप्रकाश कडेल, डा.श्यामप्रसाद सेढाई , सरला जोशी , गायत्री श्रेष्ठ , केदारनाथ खनाल, बालकृष्ण थपलिया , गणेश श्रमण लगायत बालकुमारी कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूसमेत गरि करिब छ दर्जन स्रष्टा , पत्रकार एवम् साहित्यानुरागी मनहरूको उपस्थिति रहेको थियो ।

लेखक डा. गैरेले  प्रश्नहरूको जवाफ दिँदै आफूले सवाल्टन लेख्न  नसक्ने जिकिर गरे । उपन्यासको मुल कथा पढेर मात्रै भुमिका पढ्न आग्रह गरे |उपन्यास लेख्दै गर्दा केही पात्रहरूप्रति अनादर सम्बोधन गरिएकोमा पछि आदर भाव जागेको र यसबिचमा वर्णविन्यासमा आफू चुकेको स्विकार्दै भाषिक अशुद्धतालाई आगामी संस्करणमा सुधार्ने प्रतिबद्धता गरे ।आफूलाई मात्रै होइन सम्पूर्ण साहित्यलाई चितवनले धेरै पढेकोमा खुशी व्यक्त गरे । साथै लेखक परिस्कृत भएर आउनुपर्ने लेखकहरूले कमजोरी सच्याउँदै लेख्दै जानुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा वक्ताहरू,  लेखक र उपस्थित विद्यार्थी समीक्षा खड्कालाई मायाको चिनोस्वरुप विभिन्न लेखकका कृतिहरू प्रदान गरिएको थियो । कवि सामना पहाडले सञ्चालन गरेको कार्यक्रममा  नेपाली लेखक संघकी अध्यक्ष शान्ति शर्माले आगामी दिनमा पनि  यस्ता कार्यक्रममा जोडिने प्रतिबद्धता व्यक्त गर्दै  विद्यार्थीहरूको उपस्थिति उत्साहजनक रहेको बताईन् |शर्माबाट कार्यक्रम सफलताको साथ सुसम्पन्न भएकोमा सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद दिँदै  समापन भएको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !