कोहलपुर, बैशाख २,
मगर समुदायको मौलिक भेषभूषा, परम्परागत खानपान, सांस्कृतिक झाँकी तथा नयाँ वर्ष २०८३ को अवसरमा सञ्चालन भइरहेको शुभकामना आदान–प्रदान मेलाको आज तेस्रो दिन विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

तेस्रो दिनको मुख्य आकर्षणका रूपमा गोपाल नेपाल जि.एम र जानकी तारामी मगरको प्रस्तुति रहेको थियो । उनीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम तथा गीत–संगीतले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । मेलामा मगर समुदायको मौलिक पहिचान झल्काउने भेषभूषा, परम्परागत खानपान र झाँकीहरू निरन्तर रूपमा प्रदर्शन भइरहेका छन् । जसले स्थानीय तथा बाह्य दर्शकहरूको उल्लेख्य आकर्षण बढाएको छ ।

आयोजकका अनुसार मेला मार्फत मगर भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनसँगै नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान गर्ने उद्देश्य सफल बन्दै गएको छ । यसअघि आयोजकले जानकारी दिएअनुसार भोली चर्चित नेपाली अभिनेता पल शाह सहित अन्य राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम तय गरिएको छ, जसले मेलालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।


